शनिबार, आश्विन १७ गते २०८३

कोलम्बियाको राष्ट्रपति चुनाब बिषेश  चर्चाको बिषय किन ?

आषाढ १७, २०७९ शुक्रबार
कोलम्बियाको राष्ट्रपति चुनाब बिषेश  चर्चाको बिषय किन ?

boldai.jpg
लोकनारायण सुबेदी
बिश्वब्यापीरुपमा आजको राजनीतिक गतिशीलतालाई हेर्दा बस्तुगत दृष्टिकोणको सुझबुझ राख्ने इमादार बुद्धिजीवीहरु यो समय दक्षिणपन्थतिरको उछाल आएको प्रतिप्रबाहकारी समय हो भन्ने गर्दछन् । यद्यपि कतिपय देशहरु यसको अपबाद पनि देखिने गर्दछन् । किनकि परिस्थिति मानिसको इच्छा अनुसार बन्दैन र परिबर्तन चाहनेहरुले त्यो प्रतिकुलतालाई कसरी अनुकूलतामा ढाल्ने भन्ने कुराको खोजी गर्नु पर्दछ भन्ने बिश्वब्यापी एउटा मान्यताको कुरा हो । अहिले दक्षिण अमेरिकी राष्ट्रका मानिसहरुले त्यस्तै परिस्थितिको खोजी गरेको देखिदैछ । 
 हुन त आजको बिज्ञान र प्रबिधिको अद्भूत प्रगतिले सारा बिश्वलाई नजिक तुल्याइदिएको छ । कुनै सुदूर देशमा घटने घटनाले पनि बिश्वको अर्को सुदूरबर्ती देशलाई पनि प्रभाव नपारी छोड्दैन । दूरीको कुरा गर्दा हाम्रो देशको राजधानीबाट कोलम्बियाको राजधानी बोगोटा झण्डै झण्डै १४ हजार किलोमिटर टाढाको दूरीमा रहेको छ । पुरानो प्रचलित भाषा शब्दमा भन्ने हो भने त त्यो देश हाम्रा लागि ‘पाताल देश’नै हो । पृथ्वीको ठीक अर्को पाटामा पर्छ हाम्रो देशबाट त्यो देश । त्यत्ति टाढा रहेको देशमा भएको राष्ट्रपतिको चुनावको कुरा किन गर्नु परेको होला भन्ने प्रश्न पनि उठ्न सक्तछ । यो अस्वाभाविक पनि होइन । यद्यपि हामी ‘बशुधैब कुटुम्बकम्’ भन्ने मान्यता राख्ने परम्परा भएको देशका बासिन्दा पनि हौं माक्र्सबादी दृष्टिकोणले अन्तर्राष्ट्रियबादी पनि हौं । त्यसैले पनि यसप्रति चासो हुनु स्वभाविक नै भयो । त्यसका अनेक कारण हुन सक्छन् । हाम्रा लागि भने यसको एउटा मूल कारण रहेको प्रतीत हुन्छ । त्यो हो — त्यहाँका सर्बकालिक प्रिय लेखक गेब्रियल गार्सिया माक्र्वेज(मार्च १९२७ —अप्रिल २०१४)को कारण । उनी उनको जादुमय यथार्थबादी साहित्यिक शैलीका लागि संसारभरी बिख्यात र लोकप्रिय छन् । कतिपयले उनलाई मार्खेज भनेर पनि सम्वोधन गर्ने गर्दछन् । उनी स्पेनिश भाषाका उपन्याशकार र कथाकार थिए । उनको साहित्यका लागि नोबल पुरस्कारले पनि सम्मान गरिएको थियो । ‘हण्ड्रेड इयर्स अफ सोलिच्यूड’ अर्थात ‘एकान्तका सय बर्ष’ नामको असाधारण कृति उपन्यासका लागि । त्यसो त उनले लेखेका हरेक शब्द पठनीय र आकर्षक मान्छन् साहित्यका मर्मज्ञहरु । त्यसमा पनि जसलाई ल्याटिन अमेरिका र त्यसको मन मस्तिष्कलाई बुझ्नु छ तिनले उनको अर्को एउटा किताब ‘दि जनरल इन हिज लेब्रिन्थ’ पढ्नु पर्ने बताउँछन् । यसको अतिरिक्त फिडेल क्याष्ट्रोको १७ घण्टा लामो अन्तरबार्ताकासाथ लेखिएको उनको भूमिका ‘पर्सनल पोट्रेट अफ फिडेल’ तथा ‘फिडेल क्याष्ट्रो’ र ‘माइ अर्ली इयर्स’ जस्ता निबन्धहरु पनि पढ्न सकिने साहित्यानुरागीहरु र जनताको  राजनीतिमा  साच्चै समर्पितहरु औंल्याउने गर्दछन् ।
 यी कुरालाई निजी कारण मानेर छाडि दिने हो भने पनि अर्को एउटा महत्वपूर्ण कारण पनि छ कि २१२ बर्षयताको कालखण्डको इतिहासमा कोलम्बियामा पहिलो पटक बामपन्थी राष्ट्रपति र उप राष्ट्रपति निर्वाचित भएका छन् । दोश्रो चरणसम्म गएर प्रतिस्पद्र्धी १९ जून २०२२ आइतबारका दिन बामपन्थी गठबन्धनका उम्मेद्वार गुस्ताभ पेट्रोबाट पराजित हुन पुगे । पेट्रोले ५० प्रतिशतभन्दा बढी मत पाएर निर्णायक मत हासिल गरे भने दक्षिणपन्थी प्रत्याशी भने ४७ प्रतिशत मतमै रोकिन पुगे । उपराष्ट्रपतिमा भने अर्काको घरमा काम गर्ने महिला बामपन्थी उम्मेद्वार मिस फ्रान्सिया मार्केजले बिजय हासिल गरिन् । यस पदमा पुग्ने उनी एक मजदुर हुनका साथसाथै एक अश्वेत महिला पनि हुन् । त्यहाँका जनताले र बिश्वभरीकै प्रगतिशील जन समुदायले त्यो जीतलाई साम्राज्यबादी नीतिहरुका बिरुद्धको बिजय भनेर पनि लिएका छन् । भनिन्छ कि नब उदारबादी नीतिको कसाइखाना यसै दक्षिण अमेरिकी देशलाई बनाइएको थियो । अनि साम्राज्यबादी लूटको आरम्भको तारो पनि यही देशलाई बनाइएको थियो । अनि क्रिष्टोफर कोलम्बसको तेश्रो अमेरिका यात्रा पनि यही देशको नजिक भेनेजुएलाको बाटो हुँदै भएको थियो ।

petro_3.jpg

 यो महाद्विपलाई यति क्रूरतापूर्ब लुटियो कि अरु सबैको त कुरै छोडौं तिनका भाषाहरु जे हजारौ भाषा भाषिकाहरु थिए तिनलाई पनि पूरै मेटाएर छोडियो ।आज यस महाद्वीपमा बोलिने पाँच प्रमुख भाषाहरु —स्पेनिश, पुर्तगाली, जर्मन, डच, इटालियन र अंग्रेजी छन, जो हजारौं किलोमिटर टाढा बाहिरबाट आएका मानिसहरुका भाषा हुन् । त्यहाँका पुराना मूल बासिन्दाका भाषा होइनन् । कोलम्बिया वास्तवमा सामान्य देश होइन । यो मुठ्ठीभर अल्पतन्त्री धन पिचासहरुको जकडनमा परेको यातना गृह जस्तै हो । यो बिश्वको नशालु पदार्थ(ड्रग क्यापिटल)को  राजधानी पनि मानिन्छ । जहाँ बर्बर ड्रग तस्करहरुको बिगबिगी चल्छ । कुनै बेला ‘बिश्वको सबैभन्दा ठूलो अपराधी’ भनिने पाब्लो एस्कोबार कोकिनको अहिलेसम्मको सबैभन्दा चालबाज ब्यापारी यहीका थिए । आज पनि सबैभन्दा बढी कोकिनको निर्यात त्यहीबाट हुने गर्दछ । 

 यो ड्रग माफियाले सरकारलाई हरेक स्तमा कब्जा गरेको छ । तिनको बिरोधमा जो पनि खडा हुन्छ त्यसको हत्या गराइने गरिन्छ र यसलाई सामान्य कुरा जस्तै मानिन्छ । बितेको समयमा त्यहाँ जुन जुन राष्ट्रपतिका पदका उम्मेद्वारहरुले यस प्रकारको अराजकताबादी अपराधी डप्फाको बिरोध जनाए तिनको मध्य दिउसै हत्या गरियो । ती मध्येमा जान एलीसर गेटन, जेमे पार्दो लिल,बर्नार्डो जरामिलो, कार्लोस पिजारो, लुइस कार्लोस् गलन आदिको उल्लेख गर्न सकिन्छ । 

 यो देशमा जब कसैले बामपन्थी पार्टी संगठित गर्ने गर्दछ तिनको हत्या गर्ने गरिन्छ । ‘प्याटो«िटक यूनियन’ यसको एउटा उदाहरण हो । बितेको बर्ष मात्र त्यस पार्टीका १,१६३ नेता कार्यकर्ता मारिएको अभिलेख छ । त्यस हत्यामा राष्ट्रपति पदका दुइ उम्मेद्वार, १३ सांसद  र ११ महापउर रहेका थिए । त्यसैले अहिलेका राष्ट्रपतिको बिजय असाधारण हुन पुगेको हो । यी सबै किसिमका कठिन र ज्यानै जाने अबस्थामा ‘कोलम्बियन कम्युनिष्ट पार्टी,‘कोलम्बिया ह्यूमाना’ लगायतका सबै बामपन्थी पार्टीहरुले एउटा ‘जन गठबन्धन’– ‘मास कोलिएशन’ बनाएर चुनाव लडेका थिए । पूर्ब गुरिल्ला लडाकु पेट्रोलाई राष्ट्रपति तथा जुझारु आन्दोलनकारी किशोरी सुश्री फ्रान्सिया मार्केजलाई उपराष्ट्रपतिकोरुपमा बिजय गराइयो ।
 लामो समयदेखि कोलम्बिया अशान्त छ । आन्तरिक कलहरु र टकराउले गर्दा कयौं लाख मानिस मारिइसकेका छन् । २५ हजार अहिले पनि बेपत्ता रहेका छन् । ६० लाखभन्दा बढी आफ्नो रासोबासो भएको ठाउँबाट बिस्थापित शरणार्थी  हुन बाध्य भएका छन् । त्यसैले अहिलेको यो चुनाव परिणामलाई ती सबै पीडित नागरिकहरुका लागि एउटा शान्ति बहालीको सन्देश लिएर आएकोरुपमा हेर्न थालिएको छ । यो त्यस्तो कोलम्बिया हो जहाँ अहिले ३४ प्रतिशत मानिसहरु गरीबीको रेखा मुनि रहेका छन् । १ रोड २७ लाख जति कोलम्बियन्सले प्रतिदिन २ डलर मात्र कमाउन सक्छन् र त्यसैमा गुजारा गर्न अभिशप्त रहेका छन् । त्यहीं समाजको माथिल्लो  १० प्रतिशत तप्काको आमदानीको तुलनामा यो ४६ दोब्बर बढी छ । त्यहाँ जनसंख्याको १७ प्रतिशत बेरोगार मानिस रहेका छन् र त्यो बेरोजगारीको दर पूरै ल्याटिन अमेरिकाको कुरा गर्दा कोलम्बियामा सबैभन्दा बढी छ । यहाँ झण्डै ३० प्रतिशत नागरिकसँग समुचित आवासको ब्यबस्था छैन ।यसका अतिरिक्त ६,६२,१४६ परिबार अर्थात जनसंख्याको ५ प्रतिशत जनसंख्या बेघर रहेको छ ।
 जहाँ गरीब ग्रामीण घरहरुमा ८१ प्रतिशत यस्ता ग्रामीणहरु छन् जोसँग धाराको पानी पिउने सुबिधासम्म पनि छैन । अनि ६८ प्रतिशत जनसंख्या भीडभाडमा रहन बाध्य छन् । अर्कोतिर शहरहरुमा ५० प्रतिशत र गाउँघरमा ८० प्रतिशत श्रम शक्ति असंगठित क्षेत्रमा छ । जसलाई अनौपचारिक अर्थब्यवस्था भन्ने गरिन्छ । तिनमा ठूलो संख्यामा खेत मजदुर, ट्याक्सी चालक, न्यून पूँजीको सानो ब्यापार गर्ने श्रमिकहरु छन्  जसलाई कुनै किसिमको निबृत्तिमरण (पेन्सन) या कुनै प्रकारको सामाजिक सुरक्षाको ब्यबस्था छैन । ८ बर्ष अगाडिको अभिलेख अनुसा २०१४ मा कूल श्रम शक्तिको दुइ तिहाई यही असंगठित क्षेत्रमा थियो । अब यो अहिले अझ बढेको छ ।
 त्यसैले अहिलेको राष्ट्रपति उपराष्ट्रपतिको चुनावको बिजयलाई केवल असन्तोष र उदासीनताको परिणाम मात्र होइन, यो त त्यहाँका श्रमजीवी  जनताले बिगतमा गरेको संघर्षको शानदार बिजयकोरुपमा लिइएको छ । अप्रिल, मई र जून २०२१ मा हरेक महिनामा त्यहाँ राष्ट्रिय स्तरका हडतालहरु भएका थिए । ती हडतालहरुको परिणामरुसप सरकारले बिभिन्न राहत दिने, अनुदान दिने र बढाउने घोषणाहरु गर्नु परेको थिो ।  यो संघर्ष त्यतिबेला भयो जति बेला जन आन्दोलनकारीहरुमाथि पुलिसले नराम्रोसँग अपराध गरेको थियो, हत्याकाण्डको पूरै श्रृंंखला नै चलाएको थियो । बर्खास्त गर्ने, निष्कासन गर्ने र दमन गर्ने सारा कुराले सीमानै नाघिसकेको थियो । यो तीब्र  दमन पनि त्यति बेला भएको थियो जति बेला जानकार र इमानदार मानिएका बुद्धिजीवीहरुले भनिरहेका थिए कि यो समय बिश्व दक्षिणपन्थको उभारबाट गुज्रिरहेको समय हो  । त्यसैले यो कोलम्बियाले जो मोड अहिले लिएको छ त्यसबारेमा जानकारी राख्नु र त्यहाँ अब श्रमजीबी जनताको आन्दोलन कसरी अगाडि बढ्छ गम्भीरतापूर्बक हेर्नु र सही निष्कर्श निकाल्नु श्रमजीवी बर्गको हितमा हुन्छ । त्यसैले कोलम्बियाको चुनावले बिश्वकै ध्यानाकर्ष गरेको हो र गरिरहेको छ ।