शुक्रबार, कार्तिक ७ गते २०८३

सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति

आषाढ १४, २०७९ मंगलबार
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति
Indra.jpg
 
इन्द्रनारायण सुबेदी
 
बनोस् आत्मा चोखो अनवरत सङ्घर्ष म गरूँ
म धर्ती माताको कर चरणमा जीवन धरूँ
ससानो अड्कोमा विचलित नहोऊँ अलिकति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।१।
 
खडेरीमा आफैँ रसमय सुधा छर्न म सकूँ
बनी ज्यूँदो यात्री विपुल भव यो तर्न म सकूँ
नथाकूँ यात्रामा पर भर नराखूँ अलिकति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।२।
 
नदी जस्तै मेरो अनवरत इच्छा छ बहने
विनाबाधा आफ्नो अडिग पथ पक्रेर रहने
बनूँ साथी तिम्रो वरुण अब देऊ सहमति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।३।
 
उकालोमा होऊँ समथर गरामा कि वनमा
सधैँ यौटा चोखो अभिमत सजाएर मनमा
म निस्कूँ यात्रामा गहन बनियोस् चेतन मति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।४।
 
झरी पर्दा बन्ने अमुक खहरे झैँ म नबनूँ
खडेरीको सुख्खा बगर पनि आफैँ म नबनूँ
बिसौनीमा बस्ता विगत पनि सम्झूँ अलिकति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।५।
 
नराम्रा बानीको अनुसरण छोडेर म बढूँ
ममा देखापर्ने तमक पनि तोडेर म लडूँ
बनून् साक्षी मेरा शिव जनक सीता गणपति
सधैँ वर्षाजस्तै अविरल बनोस् जीवन गति।६।
 
=============================
साभार:प्रतिभा निकुञ्ज