नाटो सेक्रेटरी जनरल जेम्ज स्टोल्टेनबर्गको रुस–यूक्रेन युद्ध सम्वन्धि यो आकलन अत्यन्तै गम्भीर छ कि ‘यो युद्ध चाँडै समाप्त हुने स्थिति छैन, सम्भव छ यो बर्षौंसम्म पनि चल्न सक्छ’ । यस बर्षको फेब्रुअरी २४ दिनदेखि रुसले आफ्नो सेना यूक्रेन पठाउन थालेको थियो । त्यति बेला यो केही दिनको मात्र कुरा हुने आम धारणा पाइन्थ्यो । तर अनेक उतार चढाव हुँदा हुँदै पनि यो युद्धले चार महिनाभन्दा बढी समय लिइसक्यो । अद्यापि युद्ध समाप्त हुने कुनै संकेत देखा परिरहेको पाइदैन । न रुस निर्णायक बिजयको स्थितिको नजिक पुग्न पाएको छ र यूक्रेनले पूरै हिम्मत हारेको छ । यूक्रेनलाई मद्दत गरिरहेका नाटोका अमेरिका र यूरोपली देशहरु समेत अनेक कठिनाई बेहोर्दा बेहोर्दै पनि पछि हट्न बिल्कुलै तयार देखिएका छ्रै्रनन् । नाटो प्रमुखकै शब्दमा भन्ने हो भने त ‘युद्ध उनीहरुका लागि जत्ति बढी महँगो किन नहोस् यसमा रुसलाई जित्न दिइनु हुन्न । यदि उसले जित्यो भने त्यसको मूल्य उनीहरुको लागि यो युद्धको मूल्यभन्दा मँहगो पर्ने छ’ । यसकारण अमेरिका समेत पश्चिमा देशहरुले युक्रेनलाई लगातार हतियारको आपूर्ति र अन्य सैनिक तथा गैर सैनिक मद्दत गर्न जारी राखिरहेका छन् । तर यथार्थमा हेर्दा यो युद्ध प्रत्येक दिन युद्धरत दुबै पक्षका लागि जबर्जस्त ठूलो नोक्सानको कारण बनिरहेको छ । तर उनीहरु लड्न छोड्न या युद्ध बिराम गर्न तयार छैनन् भन्ने कुरा प्रष्ट भइरहेको छ ।
सर्सरी मात्रै सतहमा हेर्दा पनि यूक्रेनका एक पछि अर्को शहरहरु ध्वस्त भइरहेका छन् । जन धनको अपार क्षति भइरहेको छ । रुसी सेनाको पनि कम क्षति भइरहेको छैन । यसै बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटीनका घनिष्ठ मित्र दिमित्री मेदभेदेबले पश्चिमा देशरुालई चेतावनीको शब्दमा भनेका छन् कि दुनियाको ‘अन्त्य’ निकट छ । यता पश्चिमा सञ्चार जगतको त झन के दाबी रहेको देखिन्छ भने जति रुसी सैनिक अफगानिस्तानमा मुजाहिद्दिनको हातबाट मारिएका थिए त्योभन्दा बढी सेना त यो चार महिनाको युद्धमा यूmक्रेनी सेनाको हातबाट मारिसकिएका छन् । उनीहरुले त रुसी सेनाले आफ्नै यूनिटको आदेश पनि मान्न छोडेको र परस्पर टकराउन थालेका छन् भन्ने प्रचार पनि गरिरहेका छन् । हुन सक्छ रुसी सेनाका लागि यो युद्ध सोचेभन्दा बढी कठीन बनेको होस्, तर यो युद्धको मूल्य भने युद्धरत दुइ पक्ष रुस र नेटोसहीतको यूक्रेनलाई मात्र चुकाउनु परिरहेको छैन । पूरै बिश्वले यो युद्धको मार र कठिनाई झेल्नु परिरहेको स्थिति बिद्यमान छ ।
बस्तवमा आज यो लडाईका कारण बिश्वले नै इन्धन र खाद्यान्नको कमीको ठूलो संकट र चर्को मूल्य बृद्धि भोग्नु परिरहेको छ । यदि यो युद्ध साच्चैन लम्बिदै गयो भने यूरोपका यूक्रेनको अन्न आपूर्तिमाथि भर परेका देशहरुको मात्र होइन ती देश आप्रबासीहरुको नयाँ संकटको पनि सामना गर्नु पर्ने स्थिति टढ्कारो छ । अनि जसै तसै गुजारा गरिरहेका बिश्वका बाँकी धेरै देशहरुले पनि धेरै मोर्चामा यो युद्धका कारण उत्पन्न संकटको सामना गर्नुपर्ने स्थिति बलबती बन्दै गएको देखिन्छ । त्यसबाट पार पाउन कम कठिन हुने छैन ।
यसका अतिरिक्त यो युद्धबाट पर्याबरण रक्षा गर्ने अभियानमाथि पनि असर पर्ने कुरा जानकारहरु औंल्याइरहेका छन् । रुसबाट ग्यास पर्याप्त आपूर्ति हुन नपाइरहेको बेला खाशगरी यूरोपेली देशहरुमा कोइलाको उपयोग बढाउन बाध्य हुनुु पर्ने हुन्छ । अनि कतिपय बिश्वका देशहरुलाई मन्दीले पनि आक्रान्त पार्न सक्छ, जुन मन्दी अहिले नै उत्पन्न भइसकेको देखिएको छ । यी सबै गम्भीर कारणले गर्दा यो युद्धलाई बार्तामा बदलेर समस्या समाधान गर्नुभन्दा अर्को उत्तम उपाय छैन । सबैले युद्ध रोक, नाटो बिस्तार रोक, बार्ताद्वारा समाधान खोज भन्ने आवाज जोडदाररुपमा उठाउनु सामयिक र सही हुन्छ ।