शनिबार, आश्विन १७ गते २०८३

मोरङका उद्योगीले मागे अर्थमन्त्री शर्माको राजीनामा

आषाढ ९, २०७९ बिहीबार
मोरङका उद्योगीले मागे अर्थमन्त्री शर्माको राजीनामा

 मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै  मोरङका उद्योगी र मजदुरहरुले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् । 

यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि आजबाट आन्दोलन सुरु गरेका हुन् ।  शर्माले बजेट भाषणका क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ र तयारी वस्तुमा १.५ प्रतिशत कायम गरेपनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीले गुनासो छ । सरकारको नीतिले स्टील उद्योग पनि संकटमा पर्ने उद्योगीको गुनासो छ । 

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योगले आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसक्ने गरी बजेट मार्फत सरकारले आयातलाई प्रोत्साहन गरेको उद्योगी र मजदुरको गुनासो छ । यसअघि वनस्पती तेलको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो । सरकारले आर्थिक वर्ष २०७९। ८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेपछि स्वदेशी उद्योग धारासाही भएकाले सडक संघर्षमा उत्रनुपरेको उद्योगीहरुको गुनासो छ । सरकारको नयाँ व्यवस्थाले मजदुर बेरोजगार हुने देखिएको छ ।