अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष सन्देश भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकी सरकारको स्टेट पार्टनरसीप प्रोग्राममा कुनै हालतमा नेपाल सहभागि हुन नहुने भन्दै खबरदारी गरेका छन् ।
केहि समय अघि नाटकीय प्रपञ्च रचेर संसदबाट पारित गरिएको एमसीसी जस्तो घातक सम्झौता पछि अमेरिकी सैन्य गुटमा नेपाललाई फसाउने प्रयत्न भइरहेको भन्दै भट्टराईले विज्ञप्तिमार्फत विरोध जनाउँदै देशको हित विरुद्ध भएका सन्धिसम्झौता खारेज गर्न माग गरेका छन् ।
असंलग्न परराष्ट्र नीति अँगालेको नेपालले कुनैपनि सैन्य धूरीमा सहभागिता जनाउनु मुलुकको भूराजनीतिक अवस्थितिले समेत आत्मघाती हुने विद्यार्थी यूनियनको ठहर छ ।
देशको स्वाधीनता र स्वतन्त्रता विपरित, नीहित संकीर्ण स्वार्थका लागि बाह्य शक्तिसँग आत्मसमर्पण गर्ने र राष्ट्रलाई नै बन्धक बनाउने कुनैपनि सहमति, सम्झौता र सन्धि नगर्न यूनियनले भनेको छ ।
यूनियनले सत्ताधारी दलका यस्ताखाले क्रियाकलापविरुद्ध सम्पूर्ण प्रगतिशील, देशभक्त र जनवादी एवं क्रान्तिकारी विद्यार्थी समुदायलाई एकजुट हुन आव्हान गरेको छ ।