शनिबार, आश्विन १७ गते २०८३

•असार•

आषाढ ३, २०७९ शुक्रबार
•असार•
basudevpandeya.jpg
बासुदेव पाण्डेय
 
कालो सेतो घन गगनले गर्न थाल्यो प्रसार
आयो नौलो हरित महिना उर्वरा यो असार।
बर्खा लाग्यो झमझम झरी हट्न लाग्यो खडेरी
छैनन् रित्ता अब दह कुनै ताल, खोला, पँधेरी।।
 
रोयो सारा गगन जलका रूपमा आँसु झारी
सारङ्गीझैँ स्वर मधुरता पात खेल्छन् जुहारी।
मोतीजस्ता सलिल कणले भूमिमा राज गर्छन्
खोलानाला सकल झरना लाग्छ सङ्गीत भर्छन्।।
 
गाना गाए सकल तरुका पातले झम्झमाई
प्रेमी हो झैँ हरित लहरा हेर्छ मुन्टो उठाई।
पानी पर्दा गगन- वसुधा भेट-वार्ता गरेझैँ
कालोकालो सगर घनले लाग्छ आँखा तरेझैँ।।
 
ओढी सेतो सिरक कुहिरो जोड्छ बेँसी र लेक
फोर्दै साह्रो जमिन जलका मूल फुट्ने अनेक।
मान्छे गर्छन् अनुभव नयाँ कीट सङ्गीतबाट
खोलानाला चपल गतिमा बग्दछन् हर्षसाथ।।
 
चिप्लो माटो जलमय धरा यो असारे हिलामा
पानीको नै रजगज चल्यो पाइला पाइलामा।
फेटा ठानी धवल कुहिरो बेर्दछन् टाकुराले
धर्ती फोरी बिउ जमिनमा रोप्दछन् पाखुराले।।
 
 
बासुदेब पाण्डेयजीकाे मुहार पुस्तिका