
इन्द्रनारायण सुबेदी
कृषक(शिखरिणी)
(अभ्यास स्थल : मेचीमहाकाली साहित्यमञ्च)
==============================
मुठी रोपी मानो फसल पछि झिक्ने रहरमा
ठुलो भोटे ताल्चा जतनसँग लाएर घरमा
झरेका छन् बेँसी कृषकगण ऊर्जा छ मनमा
छ आशाको राँको चमचम उज्यालो वदनमा । १।
छिपे डाँडाकाँडा सघन कुहिरो बोक्दछ झरी
कुनै जाडो गर्मी समयसित पर्वाह नगरी
हलो दाँदे डोको घुम र फरुवा साथ तिनका
रमेका छन् साथी सरह गुनिला रात दिनका।२।
झुले तारे होरा ! तलतल उँभो भन्दछ हली
गरामा रोपिन्छ्न् हरित बिरुवा रूप बदली
पुवा चाम्रे रोटी टमटर पिसेको अति मिठो
बनाइन्छ्न् खाजा क्षणभर नबित्दै कति छिटो।३।
सधैँ बेँसी झर्ने रहर सबको जाग्दछ यहाँ
खनौँ जोतौँ रोपौँ अलिकति स्वयं लाग्दछ यहाँ
गराले कान्लाले श्रम र पसिना माग्दछ यहाँ
छुटी अल्छे बानी परपर कतै भाग्दछ यहाँ।४।
न खुट्टामा जुत्ता न त छ गतिलो वस्त्र तनमा
न अर्काको ईर्ष्या रतिभर रहेको छ मनमा
सुधा सोझा सादा छलकपट देखिन्न कहिल्यै
छ हाँसोमा हाँसो रसिकपन छेकिन्न कहिल्यै।५।
हिलो माटो मैलो तनभर बनाएर गहना
ठुलो जिम्मेवारी लिइकन चलाएर बहना
गरेका छन् सेवा सकल जनको रोज यिनले
उठाई धर्तीको अति गहकिलो बोझ यिनले।६।

Umakanta Subedi and Ganga Kattel Bhurtel
2 Comments
Like
Comment