शनिबार, आश्विन १७ गते २०८३

रेमिटेन्सले ग्रामीण जीवनलाई खुसी तुल्याएको छ – अर्थमन्त्री शर्मा

जेठ ३०, २०७९ सोमबार
रेमिटेन्सले ग्रामीण जीवनलाई खुसी तुल्याएको छ – अर्थमन्त्री शर्मा


आइएमई रेमिटान्स कम्पनी आफ्नो स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले  कार्यक्रमलाई सम्बोधन गर्दै  रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गर्दै सफलताको कामना गरे । मन्त्री शर्माले भने "रेमिटेन्सले ग्रामिण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको छ। " 

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गर्न सकेको बताए । एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले बिगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यावाची बनेको देख्दा आफु र आफ्नो टीमलाई खुसी लागेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव श्रीमान् शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए ।

अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने जनाए । उनले भने ‘गाउँगाउँमा आइएमई संस्कृति विकास भएको छ, अब यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्वपूर्ण हुनेछ ।’

श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए ।

कम्पनीले २२औँ वर्षसम्म आइपुग्दा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ ।