
पाण्डबहरुको बनबासको १२ बर्षसमाप्त हुन लागेको थियो । त्यसपछिको १ बर्षको अज्ञातबासको चिन्ताले युधिष्ठिरलाई सताइरहेको थियो । त्यसै चिन्तामा डुबेका उनी एक दिन आफ्ना भाइ बन्धुहरु र कृष्णसँग बिचार बिमर्श गरिरहेका थिए । त्यसैबेला त्यहाँ एक जना रुदै गरेका ब्राह्मण आएर खडा भए । रुनुको कारण सोद्धा तिनले बताए ः मेरो झोपडी बाहिर अरणीका काठ टाँगिएको थियो । एउटा हिरण आयो र त्यसले त्यो काठले आफ्नो जिउ कन्याउन थाल्यो र हिड्यो । त्यस क्रममा त्यो अरणीको काठ उसको सिंगमा अट्कियो । त्यसबाट हिरण डरायो र दुरुरु कुद्न थाल्यो अब म अग्नि होत्रका लागि अग्नि कसरी उत्पन्न गरौं ((अरणी यस्तो काठ हो जसलाई त्यस्तै अर्को काठसँग घोट्दा आगो उत्पन्न गर्न सकिन्छ ) ।
ती ब्राहृमणको दुःख सुनेर पाँचै भाइ पाण्डबहरु हिरणको खोजीमा हिडे । हिरण उनका अगाडिबाटै जोडले दौडदै धेरै टाढा पुगिसकेको थियो र आँखाबाट ओझेल भइसकेको थियो ।
पाँचै पाण्डव थकाई र तिर्खा लागेर एउटा बृक्षको छायामा बसे । उनीहरु कुन कुराले लज्जित थिए भने शक्तिशाली पाँच भाइ भएर पनि एउटा. ब्राह्मणको हिरण पक्रने सानो काम पनि गर्न सकेनन् । तिर्खाले उनीहरु सबैको घाँटी सुकिरहेको थियो । नहकुल सबैका लागि पानीको खोजीमा हिडे । केही टाढा पुगे पछि उनले एउटा तलाऊ(सरोबर) भेटे, जसमा स्वच्छ पानी भरिएको थियो । नहकुल पानी पिउन जब सरोबरमा पुगे एउटा आवाज आयो — ’माद्री पुत्र दुस्साहस नगर, यो जलाशय मेरो अधिनमा छ, पहिला मेरो प्रश्नको उत्तर देऊ अनि पानी पिउनु’ ।
नहकुल तीन छक्क परे तर उनलाई यत्ति धेरै तिर्खा लागेको थियो कि त्यस्तो चेतावनी सुन्नै चाहेनन् र पानी पिए । पानी पिउने बित्तिकै उनी प्राणहीन भएर त्यही लडे ।
निकै बेरसम्म पनि नहकुल नफर्किए पछि युधिष्ठिर चिन्तित भए र सहदेवलाई हेर्न पठाए । सहदेबलाई पनि त्यस्तै घटना भयो जस्तो नकुललाई भएको थियो । सहदेव पनि नफर्के पछि अर्जुन त्यो सरोबर नजिक गए । दुबै भाइहरु मृत भएको देखेर त्यसको कारण बारे सोच्दै अर्जुन पानी पिउन लम्किदा अर्जुनले पनि त्यस्तै बाणी सुने जस्तो नकुल र हसदेवले सुनेका थिए । अर्जुन कुपित (खुबै रिसाएर) भएर शब्दभेदी बाण चलाउन थाले तर त्यसको कुनै फल निस्केन । अर्जुनले पनि क्रोधमा आएर पानी पिए र किनारामा पुग्दा नपुग्दै र्मूछा परेर लडे । अर्जुन पनि नफर्किए पछि युधिष्ठिर अझ चिन्तित भएर भीमसेनलाई उनले दाजु भाइहरुको खोजीमा पठाए ।
भीमसेन छिटो छिटो जलाशयतर्फ दौडे । तीनै दाजु भाइलाई मृत देखेर उनले सोचे यो अबश्य कुनै राक्षसको करतुत हो । तर केही गर्नुभन्दा पहिला उनले पानी पिउन चाहे । यो सोचेर भीम जब सरोबरमा पुगे उनले पनि त्यही आवाज सुने । तर ’मलाई रोक्ने तिमी को हौ’ भन्दै भीमसेनले पानी पिए । पिउने बित्तिकै उनी पनि उही प्राणहीन भएर ढले ।
चारै भाइ नफर्किए पछि युधिष्ठिर अत्यन्तै चिन्तित बने र तिनलाई खोज्न जलाशयतर्फ हिड्न थाले । निर्जन बनबाट गुज्रिदै युधिष्ठिर त्यसै बिषालु सरोबरको नजिक पुगे जुन सरोबरको जल पिएर उनका चारै भाइले प्राण गुमाएका थिए । तिनको मृत्युको कारण खोज्दै युधिष्ठिरले पनि पानी पिउनका लागि सरोबरमा उत्रन थाले । अनि उनले पनि त्यही आवाज सुने — ’सावधान तिम्रा भाइहरुले मेरो कुरा नमानेर तलाऊको पानी पिए, यो तलाउ मेरो अधिनमा छ । मेरो प्रश्नको सही उत्तर दिएमा मात्र तिमीले यस तलाऊको पानी पिउन सक्छौ’ ।
युधिष्ठिरले बुझिहाले कि यो कुनै यक्षले बोल्दै थिए, अनि उनले भने — ’तपाई प्रश्न गर्नुहोस् म उत्तर दिने कोशिश गरुला’ ।
यक्षले प्रश्न गरे — मानिसलाई साथ कसले दिन्छ
युधिष्ठिरले भने — धैर्यले नै मानिसको साथ दिन्छ ।
यक्ष — यश लाभको एक मात्र उपाय के हो ?
युधिष्ठिर — दान
यक्ष — हावाभन्दा छिट्टो के चल्दछ ?
युधिष्ठिर — मानिसको मन
यक्ष — बिदेशजानेहरुलाई केले साथ दिन्छ ?
युधिष्ठिर — बिद्या
यक्ष — केलाई त्यागेर मानिस प्रिय हुन जान्छ ?
युधिष्ठिर — अहं भावबाट उत्पन्न गर्बलाई त्यागेपछि
यक्ष — के कुरा गुम्दा या हराउँदा दुःख हुदैन ?
युधिष्ठिर — क्रोध
यक्ष — के कुरालाई गुमाएर मानिस धनी बन्दछ ?
युधिष्ठिर — लोभ
यक्ष — ब्राह्मण हुन के कुरामा निर्भर गर्छ ?
जन्म, बिद्या, शीतल स्वाभाव
यक्ष — कुन एउटा मात्र उपाय हो जसले जीवन सुखी हुन्छ ?
युधिष्ठिर — राम्रो स्वभाव नै सुखी हुने एक मात्र उपाय हो ।
यक्ष — सर्बोत्तम लाभ के हो ?
युधिष्ठिर — आरोग्य
यक्ष — धर्मभन्दा ठूलो संसारमा के छ ?
युधिष्ठिर — दया
यक्ष — कस्तो ब्यक्तिसँगको मित्रता पुरानो हुँदैन ?
युधिष्ठिर — सज्जन ब्यक्तिसँग गरिएको मित्रता पुरानो हुँदैन ।
यक्ष — यस जगतमा सबैभन्दा ठूलो आर्श्चर्य के हो ?
युधिष्ठिर — दिनदिनै हजारौ लाखौं मानिस मर्छन् तर पनि सबैलाई अनन्त कालसम्म बाच्ने इच्छा हुन्छ । यसभन्दा ठूलो आश्चर्य अरु के नै हुनसक्छ र !
यसरी यक्षले कयौं प्रश्न गरे र युधिष्ठिरले ती सबै प्रनहरुको सही सही उत्तर दिए । अन्त्यमा यक्षले भने — म तपाईको मृत भाइरुमध्ये कुनै एकजनालाई मात्र जीवित तुल्याउन सक्छु, तपाई जसलाई चाहनु हुन्छ उ जीवित हुनेछ ।
युधिष्ठिरले यो कुरा सुनेर एक पल सोचे, फेरि भने — नहकुल जीवित होस् ।
युधिष्ठिरको यो कुरा सुन्नासाथ यक्ष उनका सामुमा प्रकट भयो र भन्यो — युधिष्ठिर ! दश हजार हात्ती जत्तिको बलशाली भीमलाई छोडेर तपाईले नहकुललाई जीवित तुल्याउन किन ठीक मान्नु भयो ? भीम नभए तपाईले अर्जुनलाई जीवित तुल्याउन सक्नु हुन्थ्यो जसको युद्ध कौशलले सदा र्सबदा तपाईको हित हुँदै आएको छ ।
युधिष्ठिरले भने – हे देब ! मानिसको रक्षा न त भीमबाट हुन्छ न अर्जुनबाट, धर्मले नै मानिसको रक्षा गर्दछ र धर्मबाट बिमुख हुँदा मानिसको नाश हुनजान्छ । मेरा पिताका दुइ पत्नीहरुमा कुन्ती माताको पुत्र म मात्रै बाँचेको छु र म चाहन्छु कि माद्री माताको पनि एउटै पुत्र जीवित रहोस् ।
’पक्षपात रहीत मेरा प्रिय पुत्र ! तिम्रा चारै भाइ जीवित होऊन ! यक्षले युधिष्ठिरलाई यो बरदान दिए । यी यक्ष अरु कोही नभएर स्वमय धर्मदेव थिए, उनैले हिरणको र यक्षको रुप धारण गरेका थिए । उनको इच्छा थियो कि उनलाई आफ्नो धर्म परायण पुत्र युधिष्ठिरलाई देखेर आफ्नो आँखा तृप्त गरौं । यसरी आरम्भ भएको थियो ’यक्ष प्रश्न’ को आरम्भिक इतिहास !
पुनर्प्रकाशित