शनिबार, आश्विन १७ गते २०८३

औद्योगिक अवस्था बारे परिसंघ र ट्रेड यूनियन प्रतिनिधिबीच छलफल

जेठ २९, २०७९ आइतबार
औद्योगिक अवस्था बारे परिसंघ र ट्रेड यूनियन प्रतिनिधिबीच छलफल

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरुलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको हो ।
 
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोडिभ १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको जनाए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको उल्लेख गरे ।

मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको अध्यक्ष अग्रवालले बताए । “तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन”, उनले भने। 

आन्तरिक उत्पादनको प्रवर्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै उहाँले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोड दिँदै  औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए । 

कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमल कुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको जनाए । उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको जनाए । श्रमिकहरुको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे । 

कार्यक्रममा सहभागीहरुले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्वका नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताए । 

कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दिपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रिता पोखरेल, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध १० वटा राष्ट्रिय ट्रेड  यूनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरु सहभागी रहेका थिए ।