नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरको प्रारम्भिक सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरे। इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर भाँडिएपछि इन्भेष्टमेन्टले मेगा बैंकसँगको मर्जरलाई अघि बढाएको हो ।
सम्झौता अनुसार इन्भेष्टमेन्ट र मेगा मर्जर रेशियो १०ः९ हुने भएको छ । इन्भेष्टमेन्ट बैंकका शेयरधनीले १०० बराबर १०० कित्ता शेयर पाउनेछन् भने मेगा बैंकका १०० कित्ता भएका शेयरधनीले मर्जरपछि ९० कित्ता शेयर मात्र पाउनेछन् ।
बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ भने अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्नेछन् । त्यसैगरी वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् । आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रकृया अघि बढाइने
दुई बैंकबीच मर्जर भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको जगेडा कोष ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ भने मर्जरपश्चात २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।
निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । हाल एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।
मर्जरपश्चात् बैंकको कर्जा ३ खर्ब २३ अर्ब ९२ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्नेछ। एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
मर्जरपश्चात कूल सम्पत्ति ४ खर्ब ४४ अर्ब ८७ करोड २४ लाख ५५ हजार रुपैयाँ पुग्नेछ भने सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुग्नेछ ।
मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् भने कर्मचारी संख्या ३ हजार २१८ हुनेछ ।