शनिबार, आश्विन १७ गते २०८३

नेपाल उद्योग परिसंघको "समर टुरिज्म क्याम्पेन" शुरु

जेठ २०, २०७९ शुक्रबार
नेपाल उद्योग परिसंघको "समर टुरिज्म क्याम्पेन" शुरु

 

नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानको सुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताए । हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास उनको छ ।
 
“पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्य अभिवृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो” उनले भने । परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरेको उनले बताए । यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालको छ । 

भारत र बंगलादेश दु्रत रुपमा बृद्धि भइरहेको बजार हो । यिनिहरुको आर्थिक बृद्धि पनि उच्च छ । नेपालसँग हवाई संजाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज देखिन्छ । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । “नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ” उनले भने ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डीया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताए । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।