शनिबार, आश्विन १७ गते २०८३

गहुँ पछि भारतले चीनी निर्यातमा पनि रोक लगाउने, कस्तो प्रभाव पर्ला

जेठ ११, २०७९ बुधबार
गहुँ पछि भारतले चीनी निर्यातमा पनि रोक लगाउने, कस्तो प्रभाव पर्ला

आगामी जुन महिनाको १ तारिखबाट भारत सरकारले चिनीको निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । यस अघि भारतले गहुँ निर्यातमा रोक लगाइसकेको छ । घरायसी माग पुरा गर्न र चिनीमा हुनसक्ने मुल्यवृद्धि रोक्न यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ । यस्तो प्रतिबन्ध आगामी अक्टाबर महिनाको अन्त्यसम्म रहनेछ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चिनी निर्यातमा पूर्ण रोक नलगाए पनि निर्यात सीमा एक करोड टनमा सीमित गरेको हो ।  

भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् । नेपालमा हाल वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । जसमा १ लाख ३० हजार स्वदेशी उत्पादनले माग धानिरहेको छ भने बाँकी चिनी भारत लगायतका देशबाट आयात हुँदै आएको छ ।

भारत विश्वमा चिनीको सबैभन्दा ठूलो उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। विज्ञहरूका अनुसार भारतको यो कदमले विश्वव्यापी मूल्यमा असर पार्ने सम्भावना छ।

युद्ध शुरु भएयता मलेसियाले जुन १ देखि ३.६ मिलियन कुखुराको निर्यात रोकेको, इन्डोनेसियाको हालैको पाम तेल निर्यातमा प्रतिबन्ध, भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेका छन् भने केही अन्य राष्ट्रहरूले अन्न ढुवानीमा कोटा राखेका छन् ।

चिनी निर्यातमा कडाई गर्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्दछ । नेपालले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा भारतबाट मात्रै साढे २५ करोड रुपैयाँ बढीको चिनी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको दश महिनाको तथ्यांक अनुसार नेपालले २५ करोड ६५ लाख ३६ हजार रुपैयाँ बराबरको ७६ लाख ९ हजार किलो चिनीको आयात गरेको हो ।