शनिबार, आश्विन १७ गते २०८३

बालेनको मत ५० हजार नाघ्यो, मेयर पद जित्ने सुनिश्चित

जेठ १०, २०७९ मंगलबार
बालेनको मत ५० हजार नाघ्यो, मेयर पद जित्ने सुनिश्चित

 

काठमाण्डौ महानगरका मेयर पदका उमेदवार बालेन्द्र शाहले ५० हजार मत कटाएका छन् । मंगलबार बिहान १० बजेसम्म १ लाख ५० हजार मत गणना भइसकेको छ भने करिब ४० हजार मतमात्र गणना हुन बाँकी छ । हालको ट्रेण्ड अन्तिमसम्म कायम रहे ३ मुख्य प्रतिस्पर्धी प्रत्येकले करिब ८ देखि ११ हजार मत थप्नेछन् । बालेन्द्र शाह र दोश्रो हुने उमेदवारबीच करिब १८ देखि २० हजार मतको फरक अन्तिमसम्म रहेन देखिन्छ । यसर्थ काठमाण्डौको मेयरमा बालेन्द्र शाहले ५९ देखि ६२ हजार मत ल्याई विजयी हुने सुनिश्चित झैं देखिएको छ । 

मतगणना अनुसार निकटतम प्रतिद्वन्दी सिर्जना सिंह भन्दा बालेन्द्र १९३८७ मतले अगाडि रहेका छन् । सिंहको मत ३१२९३ रहेको छ । त्यसैगरी अर्का उमेद्वार केशव स्थापितले मत ३०६७४ मत प्राप्त गरिसकेका छन् । उनी सिंहभन्दा करिब ७०० मतले पछाडि रहेका छन् । 

चौंथो स्थानमा गुठी आन्दोलनमा अग्रणी भूमिका निभाएका स्वतन्त्र उमेदवार सुमन सायमीले ८८३० मत ल्याएका छन् । 

महानगरका ३२ मध्ये २३ वटा वडाको परिणाम आइसकेको छ भने वडा नं १३ देखि २१ को गणना भइरहेको छ । वडाअध्यक्षमा नेपाली काँग्रेसले १४ र नेकपाएमालले ८ वटा वडामा जित हासिल गरेकाे छ । 

नेपाली काँग्रेस र नेकपा एमालेको  कोर एरिया मानिएका वडा नं १२ देखि २७ को गणना जारी रहेको भएता पनि ती क्षेत्रबाट समेत शाहले न्यूनतम १६ देखि ४५ प्रतिशतसम्म मत पाइरहेका छन् । गणना हुन बाँकी १०÷१० हजार भन्दा धेरै मत रहेका वडा १६ सोह«खुट्टे र वडा नं १५ कलंकी बल्खुमा शाहको अग्रता रहेको छ । 

उपमेयरमा भने नेकपा एमालेबाट उमेदवार बनेकी सुनिता डंगोल विजयी हुने संकेत प्रारम्भिक मतगणना देखिनै देखिएको थियो । दोश्रो स्थानमा रहेका गठबन्धनका कलम चिन्हका उमेदवार रामेश्वर श्रेष्ठले डंगोलभन्दा धेरै पछि रहेका छन् । डंगोलले ४६ हजार मत प्राप्त गर्दा श्रेष्ठको मत १६ हजार मात्र पुगेको छ । राप्रपाकी उमेदवार बिनिता मगैयाले ८६०० मत सहित तेश्रो स्थानमा रहेकी छिन् । आँखीझ्याल चिन्हबाट निर्वाचन लडेकी  विद्या श्रेष्ठ ६४०० मत सहित चौंथो स्थानमा रहेकी छिन् ।