शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी उपविदेशमन्त्री जिया किन आइन् काठमाण्डौ ?

जेठ ६, २०७९ शुक्रबार
अमेरिकी उपविदेशमन्त्री जिया किन आइन् काठमाण्डौ ?

 

अमेरिकी उपविदेशमन्त्री एवं नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपविदेशमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन्।

जियाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र उनीहरुले खेपिरहेका समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने जनाइएको छ।

सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी  परिचय पत्र’ दिएको छैन। शरणार्थी परिचयपत्र नहुँदा नेपालमा रहेका तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत अधिकारबाटै बञ्चित हुँदै आएको नेपालमा रहेका शरणार्थीका अगुवाहरुले बताएका छन्। 

उपमन्त्री जियाले प्रधानमन्त्री देउवा लगायत नेपाली उच्च अधिकारीहरुसँगको भेटमा शरणार्थी परिचपत्र पत्र नपाएका तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेका परराष्ट्र स्रोतले बताएको छ। 

उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी संयोजक जिया नेपाल आउने समाचार सार्वजनिक भएपछि चीनले उनको भ्रमणलाई नजिकबाट नियालेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री खाणलाई भेटी अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राखेकी थिइन्।

गृह मन्त्रालयका अनुसार राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा चीन विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भनेकी थिइन्। गृहमन्त्री खाँणले प्रतिउत्तरमा नेपाल–चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशील रहेको जवाफ दिएका थिए।