नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर अघि बढ्ने भएको छ । मर्जर रोक्नका लागि परेको रिट निवेदकले फिर्ता लिएपछि मर्जर सुचारु हुने भएको हो ।
एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो। बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो। सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएको हो।
लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए।
दुबै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन्।
एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ। यो सेयर विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ। दुबै बैंकको जेठ महिनाभित्र मर्जर सकेर एकीकृत कारोबार गर्ने योजना रहेको छ।