बीमा समितिले जीवन बीमा गर्ने व्यक्तिलाई वार्षिक एक लाख रुपैयाँसम्मको कर छुट प्रदान गर्न प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष २०७९.८० को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिँदै समितिले यस्तो प्रस्ताव गरेको हो ।
हाल प्रत्येक वर्ष २५ हजार रुपैयाँसम्म जीवन बीमा गर्ने नागरिकको आयकर बापत बुझाउनुपर्ने रकममा कर छुट गर्ने व्यवस्था सरकारले गरेको छ ।
बीमा सेवाको पहुँच अभिबृद्धिको लागि सो रकम बृद्धि गरी एक लाख रुपैयाँ कायम गर्न समितिले सुझाव दिएको जनाएको छ ।
सरकारले आफ्नो कार्यनीति तथा कार्यक्रममा ‘नागरिकहरु धेरै भन्दा धेरै संख्यामा बीमाको दायरामा ल्याई आर्थिक सुरक्षा दिने ।’ भन्दै उल्लेख गर्न समितिले सुझाव दिएको छ । समितिले अर्थमन्त्रालय समक्ष यस्तो प्रस्ताव पेश गरेको हो ।
आयकर ऐन २०५८, अनुसार कर्मचारीले वार्षिक २५ हजार रुपैयाँ बराबरको बीमाशुल्कमा कर छुटको सुविधा पाउने व्यवस्था छ । अहिलेको व्यवस्थामा अविवाहित व्यक्तिको हकमा वार्षिक ४ लाख रुपैयाँ भन्दा माथिको आयमा कर छुट हुनेछ भने दम्पत्तिको हकमा साढे चार लाख भन्दा माथिको आयमा २५ हजार रुपैयाँसम्मको कर छुट पाउने सुविधा रहेको छ ।
बीमा समितिले चालु आर्थिक वर्षको लागि पनि ५० हजार रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था गर्न सुझाव दिएको थियो । तर सरकारले गत वर्ष जीवनको हकमा पुरानै व्यवस्थालाई कायम गर्यो । तर घर तथा सम्पत्तीको बीमा गर्दा ५ हजार रुपैयाँसम्मको कर छुट पाउने व्यवस्था गर्यो ।
कर छुटको दायरा बढाइएमा कर छुटकै लागी बीमा गर्नेको संख्या बढ्ने र बीमा कम्पनीहरुले दीर्घकालिन अवधिको स्रोत जुटाउन सक्ने विश्वास समितिको छ ।