शनिबार, आश्विन १७ गते २०८३

नेटाेमा आवद्ध हुन स्विडेन र फिनल्याण्डले दिए आवेदन 

जेठ ४, २०७९ बुधबार
नेटाेमा आवद्ध हुन स्विडेन र फिनल्याण्डले दिए आवेदन 

 

युराेपेली राष्ट्र स्विडेन र फिनल्याण्डले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आवद्ध हुन आवेदन दिएका छन् । नेटोका लागि स्विडेन र फिनल्याण्डका राजदूतहरूले बुधबार बिहान ब्रसेल्सको मुख्यालयमा सुरक्षा गठबन्धनमा सामेल हुन आफ्ना देशहरूको आवेदन बुझाएका हुन्।

युराेपकै महाशक्ति राष्ट्र रसियाले सीमावर्ती छिमेकि देशहरू नेटाेमा सम्मिलित हुने बारेमा असहमति प्रकट गर्दै आएकाे छ । उ ती देशहरू असंलग्न पक्षकाे रूपमा रहुन् भन्ने चाहना राख्दछ । 

नाटोका लागि स्विडेनका राजदूत एक्सेल वेर्नहोफले आफ्ना फिनल्याण्डका सहकर्मी क्लाउस कोर्होनेनसँगै नाटोको मुख्यालयमा दुवै देशका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका दुई देशको आवेदन पत्र बुझाएका थिए । 

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यो ‘ऐतिहासिक कदम’ भएको जनाउँदै दुवै देशलाइ धन्यवाद दिए । 

‘हाम्रो सुरक्षाको लागि महत्वपूर्ण क्षणमा यो राम्रो दिन हो,’ उनले भने। ‘स्वीडेन र फिनल्याण्ड दुबैले पूर्ण लोकतान्त्रिक प्रक्रियाहरू पश्चात् नेटोमा सामेल हुनको लागि गरेको अनुरोधलाई हार्दिक स्वागत गर्दछु। तपाईं हाम्रा निकटतम साझेदारहरू हुनुहुन्छ। नाटोमा तपाईंको सदस्यताले हाम्रो साझा सुरक्षामा वृद्धि गर्नेछ।

‘सबै सहयोगीहरूको सुरक्षा मुद्दाहरूलाई ध्यानमा राख्नुपर्छ र हामी सबै मुद्दाहरू समाधान गरेर छिटो निष्कर्षमा पुग्न कटिबद्ध छौं,’ उनले भने।