काठमाडौं । गएको बैशाख ३० गते स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराउने बेग्ला बेग्लै स्थानका चारजना यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेका २८ वर्षीय रण श्रेष्ठ, भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई रहेकाछन् ।
उनीहरूले ३० वैशाखको राति २ बजेतिर तीनकुनेतर्फ जाने सडकखण्डमा ग्यास सिलिन्डरमा आगो लगाई विस्फोट गराएको बताइएको छ । घटना भएको केही मिनेटमै प्रहरी वृत्त नयाँ बानेश्वरबाट टोली घटनास्थलमा पुग्दा ठूलो क्षति हुनबाट जोगिएको थियो । विस्फोटबाट कुनै ठूलो क्षति नभए पनि बिके कम्पलेक्समा रहेको दृष्टि आँखा केन्द्रको र साइन ग्लोबल एजुकेसन कन्सल्टेन्सी रहेको घरको सिसा फुटेको थियो ।
यो बिस्फोटनको घटनापछि प्रहरीले अप्रेसन इको सिइर्रा परिचालन गरिएको थियो । राजधानीमै विस्फोट गराई मुलुकभर आतंक फैलाई सोही दिन हुन गइरहेको स्थानीय तह निर्वाचनलाई अवरुद्ध पार्ने दूषित मनसायसहितको कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि उपत्यका विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका विविध विधि तथा प्रविधिको प्रयोग गरी सूक्ष्म पनि वि अनुसन्धान गर्दै प्रहरीले चारैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि यस अघि पनि बिभिन्न मितिमा हातहतियार खरखजाना, बैंकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारबाहीमा गरिएको थियो ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा कम्युनिष्ट पार्टी अफ नेपाल सिअन रहेको पाइएको छ । पछिल्लो समय राईले मिडियाको आवरणमा छद्मभेषी स्वरूप धारणा गरी जनताको सुसूचित हुन पाउने अधिकारलाई तोममरोड गर्नुका साथै छुट्टै समूह बनाई विस्फोटमार्फत सर्वसाधरण जनतामा डर, त्रास, फैलाई स्थानीय तहको निर्वाचन बिथोल्न र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाई आर्थिक उपार्जन गर्ने उद्देश्य रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा, ग्यास सिलिन्डर विस्फोटन भएपश्चात भएको टुक्राहरू, कालो रातो कपाससहितको डसनाको टुक्राहरू, विभिन्न कम्पनिका आठ थान मोबाइल, उनीहरूको कोठाबाट ल्यापटप, स्कुटर, प्रेस लेखिएको ज्याकेट, नक्कली प्लाष्टिकको पेस्तोललगायतका सामान बरामद भएका छन् ।
पक्राउ परेका चारैजनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–७, विस्फोट पदार्थसम्बन्धी दफा १४१ को कसुरमा अदालतबाट सात दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।