सामाजिक सञ्जाल सञ्चार माध्यमको प्रादुर्भाबसँगै इण्टरनेटको मूल्य रसातलमा पुग्ने र असीमित कुरा(अनलिमिटेड कलिङ्ग)गर्न सकिने कुराले आशा जगाएको थियो कि सारा संसार एउटै गाउँ जस्तो हुनेछ । इण्टरनेटको चौतारीमा बसेर दुःख दर्द बाडिनेछ । मानिसको मानिससँगको बन्धुत्वपूर्ण सम्बन्धको सन्देश चारैतिर फैलिने छ । अनि यो सम्वन्ध भिडियो फोनमा एक अर्कालाई एकदमै नजिकै छेउमै देखेर अझ सबल धागोबाट जोडिएको जस्तो हुने छ । बिश्वको कुनै कुनाम कतै कुनै एउटा सानो चित्कार पनि निस्कियो भने पनि सारा संसार आँसुले भरिने छ, त्यसमा दया होइन करुणा हुनेछ अनि अरु पनि यस्तै यस्तै अनेक कुरा.... !
तर मानोकामनाहरु यसरी सहजै सत्य के बन्थे, सपनाहरु यसरी नै सत्य साबित हुन्थे भने त आज अति निर्मम दोहनले नरक जस्तो बन्दै गएको हाम्रो यो प्यारो जीवनदायिनी धरती उहिल्यै स्वर्ग बनिसक्ने थियो ! अहिले त के फाइदा यस्ता सामाजिक सञ्जालका सञ्चार माध्यमहरुबाट जबकि हरेक देशको मौजूदा धरतीको फोक्सो नै खुम्चिदै खुम्चिदै सानो हुँदै गएको छ तर यसको बिरुद्ध कहिँ कतै आन्दोलनको सृष्टि नै हुने गरेको छैन । कुनै औपचारिकता पूरा गर्ने आन्दोलन होइन, ठोस परिणामदायी समस्या समाधानमुखी प्रकृति र मानब समाजलाई परस्परमा अधिशासित नियमहरु अनुसार चल्ने प्रकृति–मानब सम्बन्ध सुमधुर र मैत्रीपूर्ण तुल्याउने सुसम्वन्धको आन्दोलन !

तर कोही किन प्रश्न उठाइरहेको छैन कि कारोनाबाट राहत पाउनका लागि जुन प्राणवायु – अक्सिजन आज हामी सिलिण्डरमा भरिहेका छौ त्यही प्रकृति प्रदत्त अमूल्य अक्सिजन भोली समाप्त भयो भने स्थिति कस्तो भयावह र दारुण बन्ला ?कोही पनि जान्न चाहँदैन र गम्भीर छैन कि कोरोनामा यत्रो ठूलो मृत्युको भय र सन्त्रास कहाबाट आयो कि के मानिस त्यसको साटो मानबताबाटै मुक्त हुन गइरहेका छन् ?
पहिला अस्पतालहरुमा बेड अर्थात शैय्या सकिए, फेरि औसधी, अनि कन्सन्ट्रेटर अनि अरु पनि अनेक आवश्यक कुरा तर यो स्वास्थ्य संकट कालमा पनि यद्यपि (अघोषित) स्वास्थ्य सामाग्री र औषधी लगायतका अत्यावश्यक बस्तुहरुमा कालोजारी, कमिशनखोरी जस्ता अमानबीय र क्रूर बिकृति र बिसंगतिहरुलाई निर्मूल गर्न किन कोही आवाजको लाठी र साच्चै लाठी पनि उठाउँदैन ? र यसका बिरुद्ध चारैतिर दौडिदैन ? सरकार र राज्यहरुप्रतिको दोषारोपणत एकदमै ठिक छ ,सशक्त खबरदारी गर्नै पर्दछ । उनीहरुले काम नगरेपछि, दोष लाग्छ, बिरोध हुन्छ नै तर समग्र बिग्रदो परिस्थिति कसरी सम्हाल्ने र भबिष्य कसरी सुनिश्चित र सुरक्षित बनाउने तथा निरन्तर सुरक्षित राख्ने जुन कुनै बिपक्षले पनि भन्दा हुन्छ होला नि किन भनिरहेको छैन ? यो अझ ठूलो चिन्ताको बिषय हो आज । कति बिकृत र कति सत्ता बशिभुत छ हाम्रो समाज र यसको प्रतिनिधित्व गर्छु भन्नेहरुको स्थिति ! अमानबीयताको पराकाष्ठातिर लम्कदो यो आजको अबस्था .