बिनिता दाहाल
गाउँमा मोटर बाटो चलेपछि
ओजेलमा परेको गोरेटो जस्तो लाग्छ देश
जहाँ चिप्ले किरा र खरी जुकाहरूको रजाइँ छ।
दुख्छ तर निचोरेर फाल्नुको विकल्प छैन
अन्यथा बिगार्नेछ अनन्तसम्म आफ्नै सौन्दर्य
डन्डीफोर जस्तो लागिरहेछ मलाई यो व्यवस्था।
नम्बर कोरेर लगाइसकेपछि भुँइमा फालेको
पुरानो रिचार्ज कार्ड जस्तो लागिरहेछ-
आफूले आफूलाई चुनाब यता।
चारो लिन उडेको माउलाई
खोजिरहेछन् गुँडमा भोका बचेराहरूले
जंगलमा बन्दुक बोकेर घुमिरहेछ सिकारी।
लागिरहेछ मलाई स्वयं घरहरू आर्यघाट जस्तो
जहाँ मानिसहरू लोभ गरिरहेछन्-मुर्दा सपनाहरूको
र निस्किरहेछन् हरेक बिहान तिनै सपनाहरूको मलामी।
म आफ्ना ईश्वर हरूलाई माटोमा गाडेर
धाइरहेछु तिर्थधाम,चडाइरहेछु परेवाको बली
र घोषणा गरिरहेछु आफूलाई शान्तिको पुजारी।
र यो कठिन परिस्थितिमा पनि
बडो धैर्यताका साथ पर्खिरहेछन् देउरालीमा चौताराहरूले
नयाँ युगको नया पथिकहरू ! शम्भु निशब्द