काठमाडौं । त्रिभुवन स्थलको आन्तरिक उडान हिजो बिहान बम आतंकको सिर्जना गरेर केही समय अबरुद्ध हुन पुग्यो । यो बम आतंक कुन उदेश्यले कसले गराएको हो गम्भीर बिषय बनेको छ । हिजो बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको थियो । पश्चिम जाने एक यात्रुले बिमान स्थलमा बमको हल्ला सुनेपछि यात्रुहरु तनाबमा रहेको जानकारी गराएका थिए ।
तर पछि सन्त्रास फैलाइए अनुरुपको कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन,’ भनेर ठाकुरले स्पष्ट पारेपछि नियमित उडान शुरु भएको थियो ।
त्यो सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका थिए ।
सन्त्रास फैलाउन फोन गर्ने को हो यसबारे यकिन छानबिन गरेर वास्तविकता सार्वजनिक गरिनु पर्दछ ।