शनिबार, आश्विन १७ गते २०८३

पत्रकार किन बन्नु भयो कमरेड पुष्पलाल ?

बैशाख १९, २०७९ सोमबार
पत्रकार किन बन्नु भयो कमरेड पुष्पलाल ?

शाही प्रतिगामी काण्ड २०१७ साल पौषपछि कमरेड पुष्पलाल भूमिगतरुपमा काठमाण्डौबाट बागमती नदीको किनारा किनारै भाग्दै गएर रौतहटको कटहरिया गाउँमा पुग्नु भयो । उहाँको साथमा क. तुलसीलाल पनि हुनुहुन्थ्यो । लुक्दै छिप्दै भोक भोकै त्यहाँ पुग्नु भएका ती दुइ कमरेडहरुलाई कटहरियाका किसान नेता कमरेड महम्मद अमिनले सुरक्षा र आश्रय दिनु भयो । त्यहाँबाट दुबै कमरेडहरु दरभंगतर्फ लाग्नु भयो । उहाँहरुलाई क. अमिनले सुरक्षित त्यहाँसम्म पुग्न सहयोग गर्नु भयो । महम्मद अमिन एक क्रान्तिकारी किसान नेता र निपुण संगठक हुनुहुन्थ्यो ।

उहाँले किसान बर्गमाथिका शोषण अन्याय र थिचोमिचो तथा अपमान बिरुद्धका चेतनामूलक गीत रचना गर्ने र गाउने गरेर गाउँ गाउँ घुमेर  किसानहरुलाई संगठित गर्ने गर्नुहुन्थ्यो  । क. पुष्पलालल दरभंगा पुग्दा त्यहाँ भारतीय कम्युनिष्ट पार्टीको बैठक चलिरहेको थियो । नेपालबाट रात दिन हिडेर भागेर भारत पसेका दुइजना कमरेडहरु कम्युनिष्ट पार्टीको कार्यालयमा पुगेपछि त्यहाँ उहाँहरुलाई आराम गराउन अलग्गै कोठामा सुत्ने प्रबन्ध गरियो । दुबै कमरेडहरु थाकेका हुँदा सुतेको केही बेरमै निदाएर जोड जोडले घुर्न थाल्नुभयो । बैठक बसिरहेका भारतीय कमरेडहरुमध्ये केहीले घुरेको आवाज आए पछि के को आवाज हो भनेर जिज्ञाषा राखे । सुरक्षा सम्वन्धलाई ध्यानमा राखेर सबैलाई बताइएको पनि थिएन । त्यसैले कुरा छल्ने किसिमले र ठट्टाकोरुपमा बैठकमा उपस्थिति कमरेडहरुलाई भनियो – ‘नेपाल के दो शेयर आए है, वह गरज रहें है’ । बैठकमा कौतुहलपूर्ण हासो चल्यो । त्यहाँ एक दिन आराम गरे पछि त्यहाँबाट बनारस गएर क. पुष्पलाल बनारसमा निर्बासित जीवन बिताउन थाल्नु भयो र त्यहाँको के.२९/३० दशपुत्र गल्ली बाराणशीबाटै नेपाल कम्युनिष्ट पार्टीलाई निर्वासनमै सञ्चालन गर्न थाल्नु भयो ।  

 देशमा सम्पूर्ण पार्टी र तिनका जन बर्गीय संगठनहरुमाथि शाही प्रतिबन्ध लागेपछि पार्टीहरु जनताका बीचमा जान सकिरहेका थिएनन् । प्रतिबन्धि पार्टीहरु सीमित इलाका, जिल्ला र केन्द्र तहमै सीमित हुन पुगेका थिए । यस्तो स्थितिलाई अन्त्य गर्न र पार्टीलाई आम जनताको बीचमा बसोबास गराउन तथा पार्टी कार्यकर्ताहरुमा क्रान्तिकारी  उत्साहको रक्त सञ्चार गर्न कमरेड पुष्पललाले एक नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई नेपालको जन संघर्षको स्थितिका बारेमा जानकारी गराउन एक अग्रेजी भाषामा पत्रिका निकाल्ने सुर कस्नु भयो । यसका लागि उहाँले ‘नेपालपत्र’लाई नेपालीमा र अग्रेजीमा ‘नेपाल ट्रिबुन’नामको पत्रिका निकाल्ने निश्चय गर्नु भयो । यसका लागि आवश्यक कार्य अघि बढाउनु शुरु भयो । नेपालत्र साप्ताहिकरुपमा र नेपाल ट्रिबुन पाक्षिकरुपमा निकाल्ने तय गरियो । 


यो निर्णय पछि ती  दुवै पत्रिकाहरु बाराणसीको जिल्ला मजिस्ट्रेट कार्यालयबाट रजिस्ट्रेशन गर्ने र प्रकाशनलाई नियमित गर्ने प्रकृया शुरु भयो । रजिस्ट्रेशन गर्ने कामका लागि कमरेड पुष्पलालका भारतीय  मित्र अधिवक्ता उदय नारायण सिंहले पक्रिया शुरु गर्नुभयो । ती  दुबै पत्रिका  कमरेड पुष्पलालको  सम्पादनमा बनारसको आर्यभूषण प्रेसबाट प्रकाशित हुन आरम्भ भए ।

cpnflage.jfif
यता नेपालमा भने त्यतिखेर  विश्व कम्युनिष्ट आन्दोलनका मतभिन्नताहरुको  विशेष चर्चा गर्दै एक वा अर्को किसिमले ती मतभिन्नतका पक्षलाई उजागर गर्दै पत्रपत्रिकाहरु प्रकाशित त  हुने गरेका थिए  । तर ती पत्रिकाहरुमा नेपालको  राजनीतका बारेमा केही पनि उल्लेख भएको प्राय: हुन्नथ्यो । केही उल्लेख भए हाले पनि कतिपय प्रगतिशील कविहरुका कृतिहरुको चर्चासम्म  हुन्थ्यो । त्यसभन्दा बढि प्रकाशनमा ल्याउँदा त्यतिबेलाको नेपालको प्रेसमाथि शाही पञ्चायती  कानुन र सरकारी नियन्त्रणले दिंदैनथ्यो । 


त्यसैले त्यतिबेला प्रकाशित नेपालका पत्र पत्रिकाहरुका धेरैजसो पानाहरुमा  विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका मत भिन्नताहरुको चर्चा उपचर्चाहरु त भएको पाइन्थ्यो  तर नेपालका बारेमा यस्तो कुनै चर्चा हुन पाउने सम्भावना थिएन । तर यस्तै संकटको स्थितिमा पनि कमरेड पुष्पलाल नेपालका पत्रपत्रिकाहरु नेपाली जनता र देशका बारेमा केन्द्रित भएर काम गरुन भन्ने चाहनु हुन्थ्यो ।

 त्यसैले प्रबासबाटै भए पनि कमरेड पुष्पलाल पत्रिका प्रकाशनमा स्वयं अग्रसर हुुनु भयो । त्यस क्रममा बनारसबाट नेपालपत्रका केही अंकहरु निस्कन सफल भएपा भने आर्थिक अभावले गर्दा नेपाल ट्रिब्युन पाक्षिक एक अंक मात्र निस्कन सक्यो । ती दुबै पत्रिकाहरुमा सैद्धान्तिक राजनैतिक बिषयका साथै जनताले भोगिरोखका समस्याहरु उल्लेख गर्दै तिनको निराकरणका बारेमा चर्चा गरिएको हुन्थ्यो । पार्टी निर्माण गर्न र जनतासँग जोडिनका लागि यो अत्यन्तै महत्वपूर्ण कार्य थियो ।