काठमाण्डौ । पुराना बयोबृद्ध कम्युनिष्ट नेता कमरेड लक्ष्मिभक्त उपाध्यायको आज निधन भएको छ । बिभिन्न रोगले आक्रान्त उपाध्याय पछिल्लो समय नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ हाम्रा बुद्धिजीवी मित्र डा. पुष्पकमल सुबेदीका मामा पनि हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट आन्दोलनमा आएको बिचलनकारी बिकृति र बिसंगतिप्रति उहाँ पछिल्लाे समय अत्यन्तै असन्तुष्ट र खिन्न हुनुहुन्थ्यो । त्यस्ता प्रबृत्तिको प्रखर आलोचक हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनले सही दिशा र गति नलिई देश र जनताका समस्या हल हुँदैनन् । कमरेड पुष्पलाल जुन लक्ष र उदेश्यकासाथ कम्युनिष्ट पार्टी सोच बिचार गरीकन स्थापना गर्नु भएको थियो त्यो पूरा हुँदैन भन्ने मान्यतामा पछिल्लो समय उहाँ बढी दृढ र मुखर देखिनु हुन्थ्यो ।

पछिल्लो समय कमरेड पुष्पलालको सन्दर्भका बोल्दै उहाँले भन्नु भएको थियो — कमरेड पुष्पलालले २००६ सालभन्दा अगाडि नै फान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति र बिकसित हुुँदै आएको बिश्व परिस्थति , बिभिन्न देशका कम्युनिष्ट आन्दोलन र तिनको नेतृत्व र नीतिका बारेमा गहिरो अध्ययन गरेर मात्रै उहाँले नेपाल कम्युनिष्ट पार्टी गठन गर्न पहिला नागरिक अधिकार बहाली गर भन्ने पर्चा निकालेको तथा कम्युनिष्ट पार्टीको महत्वपूर्ण घोषणा लेख्नु भएको, अनि २००८ सालमा सम्पन्न भएको प्रथम सम्मेलनले पार्टीका कार्यक्रम नयाँ जनबाद र पार्टी दिवस १५ सेप्टम्बर भनेर प्रष्टरुपमा उल्लेख गरेको कुरा स्मरण गर्नु भएको थियो । त्यतिबेला कमरेड पुष्पलालले बुढ्यौली भत्ता, निशुल्क शिक्षा, महिला अधिकार र मजदुर किसान बर्गको हक हितका जुन कुराहरु उठाएको थियो ती कुरा क. लक्ष्मिभक्तले स्मरण गर्नु भएको थियो । धेरै उतार चढावलाई बेहोरेर यो अन्त्यमा सही निचोडमा पुग्नु भएका बयोबृद्ध कमरेड उपाध्यायलाई उच्च सम्मानकासाथ अलबिदा ! भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिबार, आफन्तजन तथा मित्रहरुमा गहिरो समवेदना