शनिबार, आश्विन १७ गते २०८३

काँग्रेस सभापति देउवाको अपील: बागी उठेकाले उमेदवारी फिर्ता लिइदिनुस् 

बैशाख १५, २०७९ बिहीबार
काँग्रेस सभापति देउवाको अपील: बागी उठेकाले उमेदवारी फिर्ता लिइदिनुस् 

नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बागी उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन अपील गरेका छन् । पार्टीको तर्फबाट एक अपील जारी गर्दै उनले भनेका छन, “देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।”

पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन भन्दै उनले अपील गरेका हुन् । 

“देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,” काँग्रेस सभापति देउवाले अपीलमा भनेका छन् ।