काठमाडौं । म्यानमारको सैनिक शासनले घरमै गत बर्षको फेब्रुअरी महिनादेखि नजरबन्द राखेकी म्यानमारकी चर्चित नेतृ आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । बिश्व नोबल पुरस्कार बिजेता ७६ बर्षकी नेतृ सु चीको सरकारलाई सैन्य कु गरेर अपदस्थ गरेको थियो । सू चीलाई यतिबेलो धेरै फौजदारी अभियोगहरू लगाएको छ। यद्यपि उनले ती सबै आधारहीन आरोपहरूको अस्वीकार गरेकी छन् । अनि अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको पनि बताएका छन्।
म्यानमारको राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीका वकिलहरूलाई पत्रकारसँग बोल्नसम्म पनि प्रतिबन्ध लगाइएको थियो।
बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो।
सैनिक शासनको अदालतले नेतृ सू कीलाई पाँच वर्षको जेल सजाय तोकेको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ। गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।
सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ । उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ। उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको मान्छन्। सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ। संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्। म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ । साभारःबीबीसीबाट