
लोकनारायण सुबेदी
यो महिनाको २२ अप्रिलको दिन पृथ्वी दिबस थियो । यसको परिपालना गर्ने औपचारिकता निभइयो । त्यसको मूल नारा थियो ‘पृथ्वीमाथि लगानी गर’ । हुन पनि यो कुरा एकदमै सही हो कि बितेको तीन – चार सय बर्षयता मानिसले बिकासको नाममा धेरै लगानी गरिसकेको छ र गरिरहेको छ । तर बिडम्बना के भने पृथ्वीमाथि पनि लगानी गर्नु पर्दछ भन्ने सोचसम्म पनि मानिसमा आएन । पृथ्बीलाई जतिसक्दो दोहन गरेहुन्छ, केही लगानी गर्नु पर्दैन भन्ने एकसुरो नाफाकारी गलत मनोबृत्तिले काम गरेको देखियो ।
बास्तवमा आजसम्म मानिसले जे जति कुरा प्राप्त गरेको छ ती सबै पृथ्वी र त्यसका संसाधनहरुबाटै पाएको छ । तर पनि मानिसको आधारभूत जीवनदायिनी शक्ति नै पृथ्वी हो र हामी त्यसैका उपज हौं भन्ने कुरा बिर्सेर पृथ्वीलाई वास्ता गरेन । यस जीवन शक्तिको अप्रतिम प्राकृतिक उपहारप्रति गम्भीर बनेन र सोचेन । केवल पृथ्वीको निरन्तर उपभोग गर्ने अधिकार भए जस्तो गरी यसप्रति ब्यवहार गरियो । भन्नलाई पृथ्वी माता पनि भन्ने गरियो तर माताप्रति गर्नु पर्ने ब्यवहार र कत्र्तब्यको कतै परिपालना पटक्कै गरिएन । यसप्रति कुनै सुझबुझ देखाइएन ।
यसै कारणले गर्दा आज पृथ्बी यस्तो महासंकटको स्थतिमा पुगेको छ त्यो स्थितिबाट हामी मानिसले त्यसलाई पर्बबत यसको प्राकृतिक हैसियतमा ल्याउन सक्ने छैनौं, जुन प्राकृतिक शान्तिले पृथ्वी सुसज्जित रहेको होस् । अब अहिले पृथ्वीमाथि जे जस्तो ब्यवहार भइरहेको छ त्यसलाई हेरौ. र केलाऔं । समान्यतः यस कुराबाटै अनुमान लगाउन सकिन्छ कि अहिले चैत्र सकिदा नसकिदै गर्मीले आच्छु आच्छु पार्न थालेको छ । अनि बैशाख जेठ पुग्दा पुग्दै यो अझ चर्केर जाने स्थिति छ ।
यस प्रकार एकदमै स्पष्ट छ कि हामीले पृथ्बीको रक्षा गरे यसले मानिस लगायत प्राणी बनस्पति जगतको रक्षा गर्दछ भन्ने कुरालाई जसरी आत्मसात गर्नु पर्दथ्यो त्यसरी गरेनौं या गरिरहेका छैनौ । कर्मकाण्डी हिसाबले औपचारिकता पूरा गर्न पृथ्बी दिवसको चर्चा परिचर्चा गर्न थालेका छौं । प्रष्ट छ, यस्ता कार्यक्रमबाट सिक्नु पर्ने कुरा सिकेनौ र लिनु पर्ने शिक्षा लिएनौं । यसो गर्न सकेको भए हामीलाई हामीले बिगारेको र असमान्य अबस्थामा धकेलेको पृथ्वीलाई निकैहदसम्म सम्हाल्न र बचाउन या थप बिग्रन नदिन सकृय भूमिका खेल्ने थियौं ।
ज्ञाता बिज्ञहरु भनिरहेका छन् कि बितेको एक दशकलाई मात्र हेरे पनि पृथ्वीमाथि नयाँ पीडाहरु थपिएका छन् । १८८० देखि लिएर आजसम्म पनि तापक्रममा ०.०१ डिग्रीको बृद्धि हरेक दशकमा हुँदै आएको छ । १९०० देखि १९८० सम्म यो बृद्धि दर करीब १३. बर्षमा दर्ज गरिएको थियो । तर अब यो घटेर गएको छ । यस सम्मवन्ध बिभिन्न किसिमका अध्ययनबाट के निष्कर्श निकालिएको छ भने बिश्वको ढाँचागत बिकासको शैली होस् या सडकमा दौडिरहेका गाडीहरुको संख्याको कुरा होस् मानिसको जीवन शैलीलाई अझ राम्रो तुल्याउने अन्य बिभिन्न किसिमका उपकरण(ग्याजेट्स)हरुलाई नै लिऔं यी सबैका कारण तापक्रममा बढोत्तरी नै भएको छ ।
आज त यस्ता अध्ययनहरु पनि सार्वजनिक भइसकेका छन् कि तिनले के स्पष्ट पारेका छन् भने मानिसले गर्ने ऊर्जा–खपत दिन प्रतिदिन बढ्दै नै गएको छ । यो किनभने मानिसले हरेक किसिमका सुबिधाहरु जुटाउने गतिबिधि बढाएको छ । मानिसको यस्तो बढ्दो सुबिधानभोगीताले पृथ्बीको तापक्रमलाई पनि चरम स्थितितिर धकेल्दै लगेको छ । यसले स्थितिलाई थप अझ असुबिधाजनक बनाउने काम गरेको छ । के कुरा पनि निकै महत्वको छ भने बढ्दो यो तापक्रम बढ्दो आद्र्रताको पनि कारण बन्दछ भन्ने कुरा बिज्ञ अध्येता तथा बैज्ञानिकहरु औंल्याइरहेका छन् ।
यी दुबै कारणले यस्तो परिस्थिति पैदा हुने बैज्ञानिक अध्येताहरु भनिरहेका छन् कि यसले आउने समय असैह्य भएर बिकसित हुनेछ । यस सन्दर्भमा सेण्टियागोमा रहेको स्क्रिप्ट इन्स्टीच्यूट अफ ओसियानोग्राफीका सोधकर्ताका अनुसार जलवायु परिर्बर्तनका लागि तापक्रम र आद्र्रता दुबै नै जिम्मेवार छन् । अहिलेसम्मको यस सम्बन्धि अध्ययन अनुसार बैज्ञानिकहरुले केवल तापक्रमलाई नै पृथ्वीको बद्लिदो परिस्थितिको दोषी मान्दै आएका थिए । तर अब के कुरा सार्बजनिक भइसकेको र सामुमा आएको छ भने बढ्दो आद्र्रताले पनि तापक्रमको दुष्प्रभावलाई बढाउने गर्दछ ।
यो सही कुरा पनि हो कि जति जति बेला हावामा पानी बाफकोरुपमा रहेको हुन्छ त्यसले हो गर्मी र ऊर्जा छोड्ने गर्दछ । जसले आद्र्रता या नमी बढ्दछ र बर्षा हने गर्दछ, त्यसलाई अति बृष्टि या ‘फ्लस फ्लड’ भन्ने गरिन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि ०.७९ सेल्सियस जति बृद्धिले सतहमा रहेको हावाको तापमानमा १.४८ डिग्री सेल्सिियको समग्र बृद्धि हुने गर्दछ र यसमा पानी पनि जोडिएको हुन्छ ।
यी बद्लिदा परिस्थितिहरु र मानिसको नरोकिन निर्बाध बिकासको खाडीले कहिलेसम्म अत्याधिक दुष्परिणामहरुलाई जन्म दिइरहने हो ? यी नै कुराहरुलाई गम्भीरतापूर्ब लिएर नै यस पटक हामीले पृथ्बीमाथि पनि लगानी गर्नु पर्दछ भन्ने कुरा निर्धारण भएको बताइन्छ । कुरा स्पष्ट छ कि बद्लिदो पृथ्बीमाथिको परिस्थितिलाई बुझेर मात्र उद्योग या अझ राम्रो जीवनशैलीका लागि जुन खर्च हामी गर्ने गर्दछौ पृथ्वीपति गम्भीरता जनाउँदै त्यसलाई ठीकठाक राख्नका लागि पनि त्यत्तिनै ऊर्जा र अन्य संसाधनहरुको उपयोग गरिनु पर्दछ ।्
हालै अन्तर्राष्ट्रिय स्तरमा प्राणवायु अक्सिजनलाई लिएर जे जस्ता खबरहरु सार्वजनिक भए ती असहनीय छन् । संसारभरीमै ५० मध्ये ३५ यस्ता शहरहरु पाइएका छन् जुन आ–आफ्नो देशमा सबैभन्दा बढी प्रदुषित श्रेणीमा पर्दछन् । काठमाण्डौले पनि यो पर्याबरण तथा प्रदुषण श्रेणीको अग्रपंक्तिमा नाम दर्ता गराइसकेको छ । यसरी राजधानीकै यस्तो अबस्था रहे पछि अन्यत्रको अनुमान लगाउन कुनै कठिनाई छैन ।
यो बिषयमा सबैभन्दा ठूलो कुरा के हो भने आज जुन प्रदुषणको शिकार हामी भइरहेका छौं त्यसको एकताबद्ध भएर कुनै ठूलो बिरोध तयारी पनि गर्न अग्रसर भइरहेका छैनौं । जसले गर्दा देश देशका सरकारहरु र तिनका नीति तथा योजनाकारहरुले चेत्न सक्थे, दबाब पर्न सक्तथ्यो । २२ अप्रिलको पृथ्बी दिवसले यीनै कुराहरुतर्फ हामी सबैको ध्यान खिच्नु पर्दछ ।