बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सुरक्षा कवचको रुपमा मानिएको स्थिरीकरण कोष सञ्चालनको प्रक्रिया अघि बढेको छ ।
कोष सञ्चालनका लागि आवश्यक न्यूनतम १० करोड रुपैयाँ संकलन भएसँगै नेफ्स्कूनले स्थिरीकरण कोष सम्बन्धी अभिलेख सहकारी विभागलाई हस्तान्तरण गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि नेफ्स्कूनले सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई अभिलेख हस्तान्तरण गरेको हो ।
कोषमा २ सय ३१ वटा सहकारी संघरसंस्थाले कोषमा योगदान गरेका छन् । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ती संघसंस्थाबाट १० करोड ४२ लाख रुपैयाँ कोषमा जम्मा भएको बताए । कोषमा योगदान गर्ने संघसंस्थामा नेफ्स्कून सहित ५ वटा जिल्ला बचत संघ र २ सय २५ वटा प्रारम्भिक सहकारी संस्था रहेका छन् ।
कोष सम्बन्धीत अभिलेख बुझ्दै रजिष्ट्रार पण्डितले अब कोष सञ्चालनको प्रक्रिया अघि बढेको बताए। स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघ (नेफस्कून)मा रहने व्यवस्था ऐनमा छ । मन्त्रालयको स्विकृती दिएपछि कोष पूर्ण रुपले सञ्चालनमा आउने छ ।