शुक्रबार, कार्तिक ७ गते २०८३

पुरानै बोझ बोकेर नयाँ बर्ष मनाइरहनु पर्दाको पीडा

बैशाख १, २०७९ बिहीबार
पुरानै बोझ बोकेर नयाँ बर्ष मनाइरहनु पर्दाको पीडा

mero.jpg

लोकनारायण सुबेदी

बिश्वब्यापी भस्मासुर महाब्याधी कोरोना भाइरसको बिस्तार केही मन्द भएको र बिश्वमा युद्धका थप काला बादलहमरु मडारिइरहेको अबस्थाकाबीच हामी नयाँ बर्ष २०७९ को कुरा गरिरहेका छौं । हामी मानिस प्रकृतिको उत्कृष्ट सन्तान भएर पनि मातृरुपी प्रकृतिको मनपरी दोहन र शोषण जसरी गर्दै आयौ र गरिरहेका छौं, त्यस प्रकारका कृयाकलाप अति भएर खपि नसक्नु भए पछि प्रकृतिले समय समयमा रौद्ररुप लिएर मानिसहरुलाई अत्यन्तै पीडादायी शिक्षा दिन्छ । बिश्वब्यापीरुपमा दिदै आएको र दिइरहेको छ । अनि समाजिक बिषमता र बिभेदले बेला बेलामा अपूर्ब बिद्रोह जन्माउँदछ नै । यो पनि इतिहास सिद्ध कुरा हो नै हो ।त्यसैले केवल सयम फेरिएर मात्र त्यसको सार्थकता केही हुँदैन । मानिस र समाजका गलत परम्परा, पद्धति र प्रबृत्तिहरु फेरिएर असल परम्परा स्थापित र बिकसित हुनुपर्दछ । अनि नयाँ बर्षोत्सव प्रसन्नमय, सुखमय र यथार्थमा उत्सबमय हुन्छ ।

हरेक बर्ष पात्रो फेरिएको दिनकोरुपमा औपचारिकताको आदान–प्रदान गर्नु एउटा कर्मकाण्डीय कुरा होला । तर यो रुप पक्षीय कुरा मात्र हुनपुग्दछ । सार पुरानै राखेर त्यसमाथि नयाँको न्यानो पातलो लेप लगाएर रमाउनुको क्षणिक र भ्रमपूर्ण आनन्दले वास्तबिक जीवन र जगतको सही प्रतिनिधित्व पनि गर्दैन । त्यसमा पनि जुन समाजमा असमानता, गरीबी, अभाव, बेरोजगारी र बिभेद ब्याप्त हुन्छ त्यहाँ साल या बर्ष फेरिएर केही फरक पर्दैन । मूल कुरा त उल्लिखित बोझहरुबाट मुक्त भएर समानता, न्याय, सम्बृद्धि र सम्पन्नता प्राप्त गर्नु हो । अनि तिनको अबिच्छिन्नता र शतत निरन्तरता पनि हो ।

हिजोदेखि आजसम्म हामीले सर्सरी मात्र हेर्‍यौं भने पनि समाजका तल्लो बर्गका बिभिन्न तप्काहरुमा बिषादकोबिशाल छाया परेको छ — जसले कति असीम दु:ख, अथाहा सागर जस्तै तिनले कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको छ । बाहिर त केवल समयको स्वप्नाभाष जस्तो मात्र देखिने गर्दछ । नब बर्षमा आफुलाई कसैलेल्याउनु त्यो मर्ममा मल्हम लगाएर दु:ख कष्टमा आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर यो त कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु, भोग्नु र त्यसबाट मुक्ति खोज्नु न हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका बर्षहरुमा यस्ता अन्धकारका घटनाहरुलेजुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । सुन्दर भाविष्यको मागको रुपायन पनि बिचार तथा साहित्यको काम हो । नब बर्ष त्यसपछि मात्र बन्दछ ।

हुन पनि हो, प्रत्येक बर्ष यस्ता नयाँ बर्षहरु आउँछन् जान्छन् । बर्षैपिच्छे यस प्रकार नब बर्षको यथार्थ के हो भन्ने कुरा नबुझी केवल औपचारिकता पूरा गरेर यो समाप्त हुन्छ । यही क्रम पुन: दोहोर्‍याउने गरिन्छ । नयाँ बर्षमा अन्तरनिहीत भावनाको गहिरो र गम्भीर अध्यन,चिन्तन, मनन र अनुगमन केही हुदैन । अहिलेसम्मका हाम्रो इतिहासका कालखण्डहरु यसरी नै बित्दै गएका छन् । जान्छन् ।

यद्यपि आत्मसात गरिनु पर्दछ कि नब बर्ष केवल नयाँ समयको पर्व मात्र होइन । अन्तर्यमा यो जीजीबिषा,सामुहीकता, बैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । ब्याप्त बिषादको छायाँको बिरुद्ध नबीताको उद्घोष पनि हो । वास्तवमा बिगत बर्षले हामीबाट हाम्रो आकलन र मूल्यांकन चाहन्छ । नयाँ बर्ष उज्यालो बिम्बको रंगीन माछा जस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नब बर्षको पक्ष आवश्यकरुपले बिगत बर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो,तीतो,पीरो, टर्रो आदि बिभिन्न स्वादहरुबाट संपृक्त छ । नयाँ बर्षले बिगत बर्षको सन्धि बिन्दूमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नब बर्षले हामीलाई भबिष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ – पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर र जंगम आदि इत्यादिबाट । नयाँ समयको अर्थ मनको रंगमा नयाँ सिर्जनाको संकल्पको रुपमा जोडिएको हुन्छ ।दु:ख, बिषाद अभाव,बेरोजगारीको बज्र र संकट – यी सबै कुरा हुँदाहुदै पनि नब बर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र यसका लागि उष्मा तथा ऊर्जा दिन्छ भने मात्र त्यो वास्तवमा नब बर्षको महिमा गानको अर्थ पनि हुन्छ ।प्रष्ट छ, नयाँ बर्षलाई सार्थक तुल्याउन हामीले मानबीय जीबनका सबैआबश्यक आधारहरू प्राप्त गरेकै हुनु पर्दछ ।

त्यसो हुनाले, नब बर्षलाई साच्चै सार्थक र मूर्तरुपमा रुपमा मान्ने मनाउने हो भने पुराना या बिगतदेखिका सारा बिकृति र बिसंगतहरुलाई फाल्नु पर्दछ र फाल्ने दिशामा सचेतनरुपमा अग्रसर हुनै पर्दछ । त्यो साहस, त्यो दृिष्ट, त्यो संकल्प, त्यो नैतिकता, त्यो इमानदारीताको परिपालना अथक संघर्षको द्योतक बन्नु पर्दछ । पाखण्ड प्रदर्शन र त्यसलाई दोहोर्‍याइरहने औपचारिक गतिबिधिले केही हुदैन यो समयले सिकाएको अखण्डनीय पाठलाई मनन गर्नु अत्यावश्यक छ । अन्यथा हामी एउटा औपचारिकताको अन्ध अभ्यासको निरन्तरतामा खोक्रो आडम्बरमा मात्र रमाइरहेका हुन्छौं र त्यसैमा अभ्यस्त भइरहेका हुन्छौ । मनमा बिषाद मुखमा फिस्स हाँसोको आडम्बरी जीवन बाचिरहेका हुन्छौ । त्यहाँ समयोत्सव एउटा यस्तै बिडम्बनाको क्रम उपक्रम मात्र बनिरहन्छ र अभ्यस्त भइरहन्छ । हामीले आज देखिरहेको समाजको भित्री तह र सतहको वास्तविकता यही नै हो । त्यसर्थ, समयलाई आज क्रमभंगता चाहिएको छ । त्यो क्रम भंगता समाज र प्रकृतिमाथिको निर्मम दोहन र शोषण बिरुद्धको गलतबाट सहीतिर, खराबबाट असलतिर, परनिर्भरताबाट स्वनिर्भरतातिर, दुर्बलताबाट सबलतातिर, अवसरबादबाट सत्यनिष्ठातिरको अर्थपूर्ण, आधारभूत र दूरदर्शी तथा कालभेदी क्रमभंगता हो ! अनि मात्र नब बर्षोत्सवको बास्तविकता सही अर्थमा जनताको सामुहीक इच्छाकोरुपमा हाम्रा बीचमा अभिब्यक्त हुन्छ । हामी त्यस्तो समानतामा अधारित न्यायपूर्ण समाज र परिवेश निर्माणा गर्न अग्रसर होऔं !सबैमाआज आरम्भ भएको नब बर्ष २०७९को यही मंगलमय शुभकामना !