बुधबार, भाद्र ३ गते २०८३

विधवालाई हेर्दा           

आषाढ २२, २०७८ मंगलबार
विधवालाई हेर्दा           

                    

- प्रकाश कुइँकेल

परम्पराको मुखौटो भिर्ने जनमानसको घुइँचोभित्र

लाचार हुन्छे ऊ, विवश हुन्छे

उसका इच्छा आकाङ्क्षाहरूलाई ताल्चा लगाइन्छ

उसको आवाजलाई गुफाभित्रै थुनेर राखिन्छ

यस्तो लाग्छ उसका पखेटा काटिए

ऊ आज उड्न सकिरहेकी छैन

मुक्त आकाश देख्न साल कुर्नुपर्ने

मानौँ ऊ पिँजडाभित्रको चरी भएकी छे

 

हिजो रङ्गीचङ्गी वस्त्र भिरेर हिँड्ने ऊ

आज सेतो वस्त्रमा

फगत एउटा मुढो भएकी छे

 

मौन सिवाय विकल्प पाउँदिन

जब उसका वचनहरू अभिशाप बन्ने गर्छन्

जब उसका कुराहरू घातक लाग्न थाल्छन्

 

हिजो क्षितिजसम्म पुग्ने उसको आवाज

आज एउटा कोठाभित्रै कैद भएर बसेको छ

कसैले नसुन्ने

अनि कसैले नबुझ्ने बनेको छ

 

आफैसँग

प्रश्न सोध्ने अवस्थामा पनि छैन

केवल नियतिलाई धिक्कार्दै बाँचिरहेकी छे

भाग्यलाई विलाप बनाएर जिएकी छे

 

सिन्दुर पुछिएपछि, चुरा फुटेपछि

सपनाहरू पनि टुटेका छन् फुटेका छन्

लाग्छ त्यो सपनाको घर बालुवाले बनेको रहेछ

ती रहरहरू केवल सिसाद्वारा निर्मित रहेछन्

छोइसक्दा ढल्ने, झरिसक्दा झर्‍यामझुरुम हुने

 

कहिले इज्जत लुटिने त्रासमा बाँच्छे

कहिले वचनरूपी छुरा लाग्ने भयमा

 

समाजका गन्नेमान्नेहरूका अघि

कहिले अलच्छिनी बन्छे

कहिले तुच्छ 

अनि कहिले बोक्सी 

र पनि ऊ जीवित नै रहन्छे

जीवन र मृत्युबिच चाकाचुली खेल्दै बाँचिरहेकी छे

 

उसको टाउकामा अनेकौँ बोझहरू छन्

अनेकौँ कर्तव्यहरूले घेरेका छन्

भोलि हुने विधवाले आफ्नो इज्जत बचाउन धरासायी हुनु नपरोस्

खोक्रो परम्पराको यातना झेल्नु नपरोस् 

त्यही दिनलाई कुरेर ऊ अहिलेसम्म जीवित छे

 

हाँसो उमङ्ग सबै गुमाएर

परिवर्तनको एउटा आशा बोकेर

अँध्यारो कोठाभित्र ऊ लाचार अवस्थामा लडिरहेकी छे

 

केवल

समाजमा ज्योति छर्ने सपना लिएर

परिवर्तनको माग राख्दै

भोलि उदाउने नयाँ सूर्यको पर्खाइमा।

 

     

बङ्गालीपाडा, असम, भारत