शनिबार, आश्विन १७ गते २०८३

विभागले बचतऋण सहकारीको नियमन गर्न सक्दैनः मन्त्री झाँक्री

चैत्र ३०, २०७८ बुधबार
विभागले बचतऋण सहकारीको नियमन गर्न सक्दैनः मन्त्री झाँक्री

 

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छिन् । 

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा बोल्दै झाँक्रीले पुँजी र जनसहभागिता धेरै भएको ठाउँमा नियमनको आवश्यकता पर्ने औल्याइन् । 

सदस्यले बचतको सुरक्षा र लगानीको प्रतिफल खोज्ने भएकाले राज्यले नियमन गर्नुपरेको उनको भनाई थियो । मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था रहेकोमा १४ हजार सहकारीले बचतऋणको कारोबार गर्ने हुँदा नियमन अपरिहार्य रहेको उनले जनाइन् । सहकारी विभागको श्रोतसाधनले बचतऋण सहकारीको नियमन गर्न नसक्ने भन्दै उनले विभागले उत्पादन उपभोग र वितरणका क्षेत्रमा मात्र सघाउन सक्ने उल्लेख गरिन् । 

सरकारको कुल बजेट ७ सय अर्ब नभएको भन्दै उनले सहकारीमार्फत ७ सय अर्ब पुँजी संकलन भएकाले त्यसलाई सही ठाउँमा लगानी गर्न सके आर्थिक समृद्धि प्राप्त हुने बताइन् । पुँजी भनेको हल्लाको मार्केट भएकाले सानातिना हल्लाले पनि पुँजीलाई हल्लाउन सक्ने हुँदा आम सदस्यको विश्वास जितेर सहकारीहरु अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

मिश्रित अर्थतन्त्रमा सहकारीलाई राज्यले महत्व दिएकाले सहकारीले पनि सोही अुनरुप आफ्नो भूमिकालाई दरिलो बनाउनुपर्ने उनको सुझाव छ । अमेरिकामा सहकारी पुँजीवादी मोडलबाट जन्मिएकाले पुँजीवादी मोडलबाटै अगाडि बढ्यो, रसियाको सहकारी समाजवादी मोडलबाट जन्मेकाले समाजवादी मोडलमा हिँड्यो, नेपालको हाइब्रिड तरिकाको सहकारी अभियान भएकाले नियमन गर्न कठिन भएको उनको भनाइ छ । 

राज्य एक्लैले विकसित र व्यवस्थित शहर निर्माण गर्न असम्भव भएकाले निजी क्षेत्र र सहकारीलाई पनि शहरी विकासका लागि जोड्न सकिने भन्दै उनले सहकारी दुईतीन सय अर्ब पुँजी लगानी गर्न सके त्यसका लागि आवश्यक पर्ने नीतिनियम र मार्गनिर्देश बनाउन सकिने उनले बताइन् ।

सहकारीमा महिला सहभागिता उल्लेख्य रहेकाले महिलाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र आयआर्जनमा समेत जोडेर लैजान सके उपलब्धीमूलक हुने उनले बताइन् ।