प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । केपी वली नेतृत्वकाे कम्युनिष्ट पार्टी नाम भएकाे एमाले र दक्षिणपन्थी एजेण्डा बाेकेका कमल थापा नेतृत्वकाे दलबीच चुनावी सहकार्य भएकाे हाे ।
सहमतिमा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानिय निकाय परिचालन प्रमुख सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आवद्ध रहने छन् ।
सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।
त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति जनाएको छ । राप्रपाबाट छुट्टिएर राप्रपा नेपाल खाेलेसँगै थापा केपी वली नजिक भएकाे चर्चा चलेकाे थियाे ।
एमाले र राष्ट्रिय परिवार दलबीच यस्तै प्रकृतिकाे तालमेलकाे सहमति भएकाे छ ।
सत्तारूढ गठबन्धनका पाँच दलबीच स्थानीय तहकाे चुनावमा पनि सहकार्य हुने भएपछि एमालेले विभिन्न दलहरूसँग तालमेल गर्ने रणनीतिमा तीब्रता दिएकाे देखिन्छ ।
