शनिबार, आश्विन १७ गते २०८३

फाल्गुणमा मूल्य बृद्धि ७ प्रतिशत माथि

चैत्र २९, २०७८ मंगलबार
फाल्गुणमा  मूल्य बृद्धि ७ प्रतिशत माथि

 

चालु आर्थिक बर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार मूल्य बृद्धि ७ प्रतिशत माथी पुगेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर(खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

यस अबधिमा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । ०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि हुँदा उपभोक्तालाई दैनिकी चलाउन निकै कष्ठकर बन्दै गएको छ ।