चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन् । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिए पनि कोरोनाको कारण त्यो लक्ष्य हासिल गर्न असम्भव भएको उनले बताए ।
अर्थतन्त्रका सूचक सामान्य रहेको भन्दै अर्थतन्त्रको विषयमा भइरहेको हल्लाप्रति सरकारको गम्भीर ध्यानआकर्षण भएको उनको भनाइ छ । यस्तै, शर्माले विदेशी मुद्रा सञ्चिति ६.७ महिनाको आयात धान्न पुग्ने रहेको बताए । ‘अहिले ११ खर्ब ७१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ, यसले ६.७ महिनाको आयात धान्न पुग्छ’ उनले भने । मन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति सामान्य अवस्थामा रहेको भन्दै सबै परिसूचक सामान्य अवस्थामा रहेको बताए ।
‘अर्थतन्त्रमा कुनै संकट आएको छैन,’ उनले भने, ‘अर्थतन्त्र खराब छ भनेर व्यवसायी र जनतालाई भ्रम छर्ने काम भइरहेको छ ।’उनले चालु आवको फागुन महिनासम्म गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घटेर ९१ अर्ब रुपैयाँ रेमिट्यान्स आएको बताए ।