शनिबार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री देउवाद्वारा अर्थमन्त्री शर्माको बचाउ, असहयोग गरेकाले गभर्नरलाई हटाइएकाे जवाफ

चैत्र २८, २०७८ सोमबार
प्रधानमन्त्री देउवाद्वारा अर्थमन्त्री शर्माको बचाउ, असहयोग गरेकाले गभर्नरलाई हटाइएकाे जवाफ

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको बचाउ गरेका छन् । अथमन्त्रीलाई असहयोग गरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको उनले बताएका हुन् । 

अर्थमन्त्रीले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नर अधिकारीको निलम्बन गरेको भनेर सर्वत्र आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।

सत्तारुढ गठबन्धनको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादीका नेता वर्षमान पुनले गभर्नर हटाइएको बारेमा प्रश्न गरेका थिए ।

जवाफमा देउवाले अर्थमन्त्री जनार्दन शर्माले गभर्नरले आफूलाई असहयोग गरेको भन्दै पटकपटक गुनासो गरेपछि सरकारले यस्तो निर्णय गरेको जनाए ।
उनले भने, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरबाट धेरै नै असहयोग भयो भन्नुभयो । त्यसैले उनीमाथि कारबाही भएको हो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्यो नि ।’

‘अर्थमन्त्रीलाई काम गर्न पनि नदिने र सरकारले गरेका काममा असहयोग गरेको गुनासो अर्थमन्त्रीजीबाट धेरैपटक आयो,’ देउवाले भने, ‘राष्ट्र बैंक सरकारभन्दा टाढाको होइन, सरकारका कामलाई सहयोग गरेको भए यस्तो निर्णय हुने थिएन ।’

सरकारले गभर्नर अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको छ । योसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

जाँचबुझ समितिले एक महिनाभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने छ । उक्त प्रतिवेदनका आधारमा सरकारले गभर्नरलाई पदबाट बर्खास्त गर्ने तयारीस्वरुप जाँचबुझ समिति बनाएको हो ।