बुधबार, भाद्र ३ गते २०८३

संसदीय व्यवस्थाको बिकल्प खोजौं, जबजबाट समाजवाद आउँदैन ​: घनश्याम भुसाल

आषाढ २२, २०७८ मंगलबार
संसदीय व्यवस्थाको बिकल्प खोजौं, जबजबाट समाजवाद आउँदैन ​: घनश्याम भुसाल

 

यस कार्यक्रमका अध्यक्ष कमरेड, अध्यक्ष कमरेड प्रचण्ड लगायत सम्पूर्ण कमरेडहरूमा लालसलाम।

धेरै खुसीको कुरा हो, तपाईहरूको यो मार्क्सवादी ज्ञान केन्द्रको बारेमा मैले सुनेको थिए। अल्लि अगाडिदेखि तपाईहरूले सुरु गर्न थालेदेखि नै मैले सुन्दै आएको हुँ। तर, मैले सोचेकोभन्दा तपाईहरू अति धेरै व्यवस्थित हुनुहुन्छ कि भन्ने लाग्यो मलाई। तपाईहरूको आयोजना प्रस्तुति सबै हेर्दाखेरि चाहिँ मैले सोचेभन्दा तपाईहरूले राम्रो गर्नु भएको छ भन्ने लाग्या छ। खासगरि कम्युनिष्ट पार्टीको प्रचार बहुत बहुत ठूलो भएको र त्यही तुलनामा चाहिँ यसको बौद्धिक, प्राज्ञिक, बहस, छलफल, सिर्जना त्यसका लागि प्रयत्न असाध्यै त्यसको लागि हेर्ने हो भनेदेखि तपाई जस्तो विषयमा बहस गर्दै हुनुहुन्छ, यसको विषयमा बौद्धिक र प्राज्ञिक भन्दै छु। आफ्नो हिसाबले बहुत कम छ, बहुत कम छ भन्ने मलाई लाग्छ।

भर्खर बजारमा एउटा किताब आएको छ। यो क्यापिटल अण्डर इन किताव लेख्या छ। हाम्रो अर्थतन्त्र कृषि किसानीका बारेमा त्यसको विषयवस्तु मात्र मैले हेर्‍या छु। विषयवस्तु र त्यसमा परेको मेहेनतले हेर्दाखेरि त्यो एउटा किताव बल्ल देखा पर्‍या छ हाम्रोमा भन्ने लाग्या छ मलाई चाहिँ। भनेको त्यो तहको यत्तिका लाखौं मान्छेहरू चाहिँ कम्युनिष्ट हुँ भन्नेहरू र बाटोमा लाम लाग्नेहरू बौद्धिक एउटा उत्पादन कति छ भनेर हेर्ने हो भनेदेखि असाध्यै असाध्यै कमजोर छ।

त्यस्तो बेलामा तपाईहरूले सुरुमै भन्नुभो कि हामीले बौद्धिक बहस सुरु गरेका छौं, गएको एक वर्षदेखि अझ विचारधारात्मक भन्नुभएको छ। यो असाध्यै असाध्यै महत्वपूर्ण छ। वास्तवमा यो कार्यक्रम तपाईहरूले जसरी गर्दै हुनुहुन्छ १ हजार साथीहरू जोडिसक्नु भएको छ। यो असाध्यै महत्वपूर्ण कार्यक्रममा मलाई बोलाउनुभएकोमा म तपाईहरूलाई आभार नै व्यक्त गर्दछु। म तपाईहरूलाई धन्यवाद दिन्छु। म सोझै विषयमा प्रवेश गर्छु।

समाजवादी क्रान्ति अवसर र चुनौति त्यसको पुटिङमा चुनौति र अवसर राखेको भए पनि नि हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अब यो विषयमा त धेरै कुरा भन्न सकिन्छ। मैले भन्ने कुराहरू पनि बहुत थौरै कुराहरू हुनेछन्। यसको अन्तर्राष्ट्रिय आयाम छ, राष्ट्रिय आयाम छ, यसको ऐतिहासीक छ, यसको समाजशास्त्रीय व्याख्या हुन पर्नेछ, यसको अर्थशास्त्रीय आयाम त छदैछ, राजनीतिकदेखि लिएर अन्य चिजहरू सांस्कृतिक हिसाबले हेर्ने हो भनेदेखि पनि समाजवादको संस्कृतिको बारेमा बहुत कम हुन्छ हामी कहाँ। अब समाजवादी संस्कृति निर्माण गर्ने कुरा गर्छौं तर, अभ्यासको कुरा बहुत कम हुने गर्छ। अभ्यासविना संस्कृति निर्माणको कुरा गर्छौं लगायतका कुराहरू छन्, हामीले अहिले छलफल गर्न सम्भव छैन।

यस हिसाबले हेर्दाखेरि समाजवाद के हो ? समाजवादी क्रान्ति कसरी हुन्छ ? भन्नेबारेमा पनि हामी धेरै जाँदैनौं अहिलेको यो बहसका हिसाबले। समाजवाद के हो भन्दा मैले एकदमै संक्षिप्तमा भन्दाखेरि चाहिँ सबैभन्दा सजिलो परिभाषा भन्ने गरेको छु – ‘सुखदुख बराबरी यही हो समाजवाद।’ मान्छे मान्छेका बिचमा सुख र दुख बराबर हुन्छ। त्यसको त्यो सुख किन समान हुँदैनन्, दुख किन समान हुँदैनन् भन्ने कुरा फेरि पनि भौतिक जीवनको कुरा भयो, भौतिक जीवनको कुरा भनेको आर्थिक जीवनको कुरा हो, आर्थिक जीवनको कुरा भनेको उत्पादन पद्धतिको कुरा हो। यसमा स्वामित्वको कुरा हो भन्नेबारेमा हामीले धेरै लामो बहस गर्ने कुरा अहिले भएन। यसै यो अर्थ टुट्छ।

खासगरि उत्पादनका साधनहरूको स्वामित्व सामाजिक हुन्छ, पब्लिक हुन्छ, त्यो स्टेटको होइन, पब्लिकको हुन्छ भन्ने कुरा हो। समाजवाद, साम्यवादको परिभाषाको कुरा। हामी त्यहाँ कसरी जान्छौं, त्यता जाने बाटो के हो ? भन्नेबारेमा पनि अब करिब–करिब विश्वस्तरमा एक खालको चाहिँ टुंगो लाग्यो भन्ने लाग्छ मलाई २१ औं शताब्दीमा आइसक्दासम्म। २० औं शताब्दीमा बहुत धेरै बहसहरू भए। अब त्यसका धेरै ठाउँका विद्रोह, क्रान्ति, तिनका सफलता, असफलताका अनेक चरणबाट त्यो गुज्रियो र २१ औं शताब्दीमा आउँदाखेरि अब करिब–करिब हामी मान्छेको, सचेत मान्छेको यो प्रयत्न। यो सचेत भन्ने कुराको बारेमा हामीले पछि छलफल गरौंला। त्यसबाट आउँछ र त्यो अझै एक लाइनमा भन्ने हो भने हामीले भन्ने गरेको लोकतान्त्रिक बाटोबाटै आउँछ। अबको समाजवाद, समाजवादतिर जाने बाटो, लोकतान्त्रिक नै हुन्छ। अब यसमा बहस गर्दिन म चाहिँ।

म सोझै विषयमा आउँदाखेरि चाहिँ हामी कहाँ आजको नेपालको समाजवादी क्रान्तिका चुनौतिहरू के हुन् भन्ने बारेमै जान्छु। यस हिसाबले हेर्दाखेरि चाहिँ हामीकहाँ गएको करिब १४–१५ वर्षदेखि म एउटा कुरा गर्दै आएको छु। खासगरि त्यतिखेर नेकपा एमालेको ८ औं महाधिवेशनमा पुग्दासम्म हामी एउटा निष्कर्षमा पुगेका थियौं।

त्यसमा चाहिँ अझै धेरै बहस भएन भन्ने लाग्छ मलाई चाहिँ। यद्यपि सर्वस्वीकार्यताका हिसाबले धेरैले यही हो बाटो, यही हो बाटो भन्ने कुरा त भयो। हामीले त्यति बेला पुगेको हाम्रो समाज यो अर्धसामन्ती, अर्धऔपनिवेशिक भन्दै आएका थियौं, हामी सबै कम्युनिष्ट पार्टीहरूले। हामी के टुंगोमा पुग्यौं भने यो अर्धसामन्ती, अर्धऔपनिवेशिक होइन, यो पुँजीवादी समाज हो, यो पुँजीवादी समाज भएको हुनाले अबको क्रान्तिको दिशा चाहिँ समाजवादतर्फ हो। तर हाम्रो पुँजीवाद चाहिँ आफै औद्योगिक उत्पादक राष्ट्रिय चरित्रको नभएको हुनाले यो सोझै हामीले भन्ने जस्तै एकैचोटी त्यो उत्पादनका साधनको सामूहिक स्वामित्वको नारालाई आजै हामीले चाहिँ कारबाहीको नारा, आन्दोलनको नारा भने आजै बनाइसक्ने अवस्था छैन।

यसले गर्दाखेरि हामी धेरै आजसम्मका प्रतिपादन गरेका ती तमाम सिद्धान्तभन्दा हामीले रचनात्मक हिसाबले खोज्नुपर्छ। रचनात्मक हिसाबको लागि हाम्रो एउटा मौलिक अवस्था छ। त्यो मौलिक अवस्था भनेको हामी कहाँ पुँजीवाद आयो। तर यो पुँजीवादको मुख्य चरित्र दलाल पुँजीवादी छ। दलाल यसको चरित्र के हो भन्दा हामीले समाज हेर्दा पुँजीवादी छ, यसको एउटै मात्र कुरा हेर्दाखेरि टोटल जनसंख्यालाई राखेर एकैचोटी एक ठाउँमा बसेर नेपालको सारा जनसंख्यालाई तपाईले हे¥या छु भनेर एउटा मनको आँखी झयाल बनाएर तपाईले हेर्न सक्नुहुन्छ।

मानिसहरू जसको उत्पादनका साधनहरूमाथि स्वामित्व छ, पर्याप्त छ, ती मानिसहरू नाफा कमाउन हिँडिराखेका छन् र जो मानिसहरू उत्पादनका साधनहरू स्वामित्वबाट बञ्चित छन्, ती मान्छेहरू ज्याला कमाउन हिँडिराखेका छन्।

जनसंख्याको यो चरण मान्छे नाफा कमाउन हिँड्दैछ, कि मान्छेहरू ज्याला कमाउन हिँड्दैछ। यो चरित्र पुँजीवादी चरित्र हो। तर स्थिति के छ भने हाम्रो पुँजीवाद त्यो अघि मैले भने दलाल पुँजीवाद हो। त्यसले पुँजी त कमाउँछ, पुँजी सिर्जना हुँदै जान्छ, अथवा नाफा बन्दै जान्छ। नाफा हेर्दाखेरि चाहिँ हामी कहाँ विश्वस्तरको पत्रिकामा नाम निकाल्ने, निकाल्नलाई प्रयत्न गर्ने पुँजीपतिहरू देखिन्छन्। तर त्यो पुँजीको चरित्रको मूल विशेषता भनेको मुख्यतया दलाल छ। त्यो भनेको के हो भन्दा त्यसले रोजगारी सिर्जना गर्दैन। पुँजीको तुलनामा रोजगारी सिर्जना नगर्ने त्यस्तो पुँजी दलाल पुँजी हो। त्यो पुँजीले भएकै उत्पादनको प्रक्रियालाई पनि अवरोध गर्दिन्छ, आन्तरिक उत्पादनको प्रक्रियालाई रोकिदिन्छ, भएकै उद्योगलाई पनि सकिदिन्छ र यसले भएकै रोजगारी पनि सकिदिन्छ।

अथवा हामीले पुँजीमा हेर्दाखेरि हामीले निकाल्न सकिने मार्क्सले पटकपटक व्याख्या गरेको पुँजीको सामान्य चरित्र के हुन्छ भन्दाखेरि पुँजीले पुँजी उत्पादन गर्छ, पुँजीले पुँजी उत्पादनका लागि उद्यम उत्पादन गर्छ, उद्यम उत्पादन गर्नका लागि यसले मजदूर, सर्वहारा पनि पुर्नउत्पादनको प्रक्रिया हुन्छ। यसो गर्दाखेरि पुँजी पनि उत्पादन, पुनःउत्पादन प्रक्रिया हुन्छ भन्नुको अर्थ उद्यमहरू पनि स्वयं उत्पादन, पुर्नउत्पादन प्रक्रियाबाट भएर जान्छन्। त्यो भन्नुको अर्थ मजदुर वा सर्वहारा पनि उत्पादन, पुर्नउत्पादन भएर जान्छन्। १० जना सर्वहाराले अरु चाहिँ १० जना सर्बहारा जम्मा गर्छन्। किनभने तिनीहरूले गएर कारखानामा काम गर्छन्। कारखानाका मालिकलाई नाफा हुन्छ। त्यसले अर्को उद्योग खोल्छ, अर्को उद्योगका लागि अरु १० जना मान्छे चाहिन्छ। यसरी नाफाले रोजगारी उत्पादन गर्छ, यो पुँजीको सामान्य चरित्र, उद्यमशील पुँजीको सामान्य चरित्र हो, जसलाई हामीले राष्ट्रिय चरित्र भन्ने गर्‍या छौं।

तर हामीकहाँ पुँजीले पुँजी कमाउने कुरा त भयो। तर पुँजीले उद्यम कमाउने, रोजगारी सिर्जना गर्ने कुरा भएन। खासगरि यो चरित्र दलाल पुँजी हो। यो मुलतः व्यापारमा चरित्र र बिचौलिया हो। यसको बारेमा मैले सैद्धान्तिक व्याख्या कहाँ–कसरी पुँजीमा मार्क्सले व्याख्या गरेको पुँजीको कुन ठाउँबाट हामीले व्याख्या गर्न गर्छौं भन्ने कुरातिर म गइनँ।

संक्षिप्त जुन पुँजीले उद्यम सिर्जना गर्दैन, उद्यम सिर्जना नगरेपछि रोजगारी सिर्जना गर्दैन, त्यो दलाल पुँजी हो। यसले गर्दा चाहिँ यो पुँजीको चरित्रले गर्दा राजनीतिक पार्टी, राज्यका अरु अंगहरू र क्रमशः त्यसमार्फत् समाजलाई आफनो नियन्त्रणमा लिँदै लिँदै जान्छ। किनभने बिचौलिया यसको मुख्य चरित्र हो। यो उत्पादक छैन, उत्पादक नभएको र बिचौलिया चरित्रको भएकाले यसले आफनो रक्षाका लागि सबै संयन्त्रलाई, राज्यका अंगहरूलाई, त्यसका लागि राजनीतिक पार्टीलाई र तीमार्फत् समाजलाई पनि आफनो कब्जामा लिँदै जान्छ र दलाल पुँजीवादले आफैलाई पुर्नउत्पादन गरिरहन्छ।

जसरी हामी पुँजीले पुँजी उत्पादन गर्छ भन्छौं। यदि त्यो पुँजी दलाल पुँजीको पुर्नउत्पादन पुँजी हुन्छ भने हामीले त्यसलाई के मान्नुपर्छ भने दलाल पुँजीवादले आफूलाई जीवित राख्नका लागि उत्पादन, पुर्नउत्पादनकै प्रक्रियाबाट जान्छ। यसरी दिनदिनै दलाल पुँजीवादले आफूलाई उत्पादन, पुर्नउत्पादन गरिरहेको छ भन्ने मलाई लाग्छ। र यहाँ हस्तक्षेत्र नहुँदासम्म उद्यमशील राष्ट्रिय पुँजीको विकास हुँदैन। औद्योगिक चरित्रको पुँजीको विकास नभएसम्म हामी समाजवादमा जान सक्दैनौं। यसले गर्दा आज समाजवादको कुरा गर्दा दलाल पुँजीवादलाई कसरी नियन्त्रण गर्नु र रुपान्तरण गर्नु हुन्छ। मैले नियन्त्रण र रुपान्तरण गर्नु भन्या छु। यसलाई अर्थशास्त्रीय र राजनीतिशास्त्रीय भाषाले अलि लामै छलफल गर्नुपर्छ।

हामीले यसलाई नियन्त्रण र रुपान्तरण गर्दै अगाडि जाने हो। किनभने सुरुमा मैले भन्या छु, हिजोको जस्तो एकचोटमा अब यो अगाडि समाजको क्रान्तिकारी प्रक्रिया अगाडि बढ्दैन। धेरै लामो प्रक्रियाबाट अगाडि बढ्दछ। त्यसो हो भने त्यो लामो प्रक्रिया के हो, जसले दलाल पुँजीको आफ्नै उत्पादन प्रक्रिया हामीले आफै हस्तक्षेप गछौं। त्यो कुरा के हो भन्ने हामीले छलफल गर्नुपर्छ। यो एउटा भयंकर ठूलो चुनौती हो, जसको बारेमा म फेरि पछि छलफल गर्नेछु।

दोश्रो कुरा, हाम्रो विशिष्टतामा भूराजनीतिक एउटा असाध्यै महत्वपूर्ण चीज हो भन्ने लाग्छ मलाई। अझ आज आएर यो अझै धेरै प्रष्ट देखिन्छ। अलि अगाडिदेखि मैले यो विषयमा मैले लेख लेख्दै आएको थिएँ। अहिले हाम्रो पार्टीमा केही डकुमेन्टहरू पनि पेश गरेको छु। खासगरि विचारधारात्मक कारणले र भूराजनीतिक कारणले गर्दाखेरि हामी कम्युनिष्ट पार्टीका विरुद्ध पश्चिमा शक्तिहरू, विचारधाराहरू, सामान्य एनजिओ आइएनजिओहरूका प्रक्रिया पनि यसमा बुझनुपर्छ। तिनीहरू हामी समाजवादी, क्रान्तिकारीलाई टुक्राउन र सत्यनाश गर्न चाहन्छन्। किनभने हामी चीनका छिमेकी हौं, त्यहाँ कम्युनिस्ट पार्टी छ। त्यस्तो कम्युनिस्ट पार्टीको छिमेकी भन्ने गर्‍या छैन मैले त। तिब्बतको हामी छिमेकी भन्ने गरे हुन्छ।

हामी भारत र चीनका बिचमा छौं। यी दुई देशका धेरै ठूला गौरवपूर्ण इतिहास पनि छन्। चीनको जनसंख्या शक्ति सामथ्र्यको कुरा गर्नु परेन, त्यो प्रष्ट छँदैछ। यी त्यस्ता मुलुकहरू हुन्, जो अन्तरविरोधपूर्ण वैचारिक धरातलमा उभिएका छन्। इतिहास सबैका आफना गौरव, विश्वास, अन्धविश्वासहरू छन्। तिनको आफनै विश्वव्यापी रुपमा आफनो पहिचान स्थापित गर्ने आकांक्षाहरू, संकल्पहरू छन्। तिनका प्रतिस्पर्धा, त्यो प्रतिस्पर्धामा दुईटाका बिचका हाम्री मुलुक हौं। त्यसले गर्दाखेरि त्यो अन्तरविरोधका बाछिटाहरू, प्रभावहरू हामीलाई निरन्तर परिरहन्छन्।

हामीकहाँ माइक्रोम्यानेजमेन्ट कहिलेकाहिँ भन्ने गछौं। दरबार मार्गको पुलिस अफिसको सरुवा पनि भूराजनीतिक तागतले नै गर्दिन्छन् भन्ने छ। धेरै अर्थमा यो प्रयत्नहरू भएका छन्, हुने गरेका छन्। त्यो जीवित वास्तविकता हो। यसले गर्दाखेरि पहिलो पश्चिमा दबाबको कुरा छ, दोश्रो भारतको वैचारिक र उसको अर्थराजनीतिक कारणले पनि र अझ हामीसँग राष्ट्रनिर्माणको दौरानमा भारतसँग बनेका हाम्रा केही अन्तरविरोधका श्रृंखला छन्। किनभने राष्ट्रनिर्माणको दौरानमा नेपालले भारतसँगको संसर्गमा कहिले लडेर, कहिले मिलेर हामी विकसित भएका हौं। यो एउटा सन्दर्भ छ। यसले गर्दाखेरि भूराजनीतिक हिसाबले भारत र हाम्रो अवस्थिति अर्को एउटा चुनौती हो भन्ने मलाई लाग्छ।

यसरी हेर्दाखेरि चाहिँ पश्चिमा, भारतीय, पश्चिमा र चाइनाको अन्तरविरोध, हाम्रो भारतसँग अन्तरविरोध यो तीनवटा अन्तरविरोध अरु तमाम कुरा व्याख्या गर्न सकिन्छ। मूलभुत रुपले हाम्रो राजनीतिक कुरा यसले निर्धारण गर्छ भन्ने लाग्छ। यो तानातानमा हामी छौं र यसमा खासगरि यिनिहरूले, यी शक्तिहरूले, ती भूराजनीतिक शक्तिहरूले हामीलाई विस्थापित गर्नका लागि दलाल पूँजीवादी दलालहरूलाई नै प्रयोग गर्छन्। यसरी दलाल पुँजीवाद र भूराजनीतिक शक्तिहरूको एउटा न्याक्सेस बन्छ र बनिरहेको छ।

दलाल पुँजीवादीहरूको उद्देश्य हामीलाई समाजवादी, कम्युनिस्ट अथवा प्रगतिशील अथवा बलियो एउटा राष्ट्रिय एकताका साथ बलियो स्थिरताका साथ त्यतातिर जान नदिने कुरा हुन्छ। त्यसलाई स्थापना गर्न नदिने उनीहरूको मुख्य उद्देश्य हुन्छ। आज हेर्ने हो भने हाम्रो पार्टीतिर, हाम्रो राज्यभित्र, हाम्रो समाजका तमाम अंगहरूमा बेलाबेलामा, घण्टाघण्टामा देखिने विभिन्न प्रवृत्ति, प्रचारहरू हेर्नुहुन्छ भने धेरै ठाउँमा यो भूराजनीतिक यी शक्तिहरू र दलाल पुँजीवादीहरूलाई हरेक ठाउँमा देख्न सकिन्छ।

पार्टी, कार्यकर्ता विभाजन, तिनका सम्वन्ध, सरकार बदल्ने प्रयत्न, राख्ने प्रयत्नहरू, संसदमा देखिने हेराफेरि, पार्टीमा देखिने हेराफेरि, यी तमाम चीजहरूलाई हामीले यसरी हेर्नुपर्छ, यी कुराहरू सहजै देखिएको छ भन्ने मलाई लाग्छ। यसरी दलाल पुँजीवाद समाज विकासको क्रममा हामी जहाँ, छौं दलाल पुँजीवाद आफै एउटा चुनौती हो। दोश्रो, आजको एउटा खास विशिष्टको राजनीतिक स्थिति हो। तेश्रो अवस्था हो अर्को चुुनौति छ जुन चुनौतिको कम छलफल गर्ने गरेका छौं। यो छलफल गर्नुपर्ने खास गरी नेकपा एमालेले थियौं। माओवादी अल्लिपछि यो लोकतान्त्रिक प्रक्रियामा आएको हुनाले उसलाई ढिलो हुने कुरा मान्न सकिएला। तर, खास गरी हामीले भन्ने हो भने २०५४ सालदेखि नेकपा एमाललेले यो।

संसदीय व्यवस्थाबाट नै हामीले समाजवादमा जाने जस्तो वरियन्टेशन जनताको बहुदलीय जनवादले दियो। जनताको बहुदलीय जनवाद भनेको एउटा पपुलर कुरा भयो। पपुलर कुरा खासगरि कमरेड मदन भण्डारीको कारणले। उहाँको हत्या, मृत्युको प्रकृतिको कारणले। त्यतिखेर उठ्दै गरेको एउटा कम्युनिस्ट आन्दोलनको नेता, पार्टीको नेतामाथि भएको मृत्युको प्रकृतिले एउटा ठूलो राष्ट्रिय शोकको कुरा बन्यो र पार्टीले शोकलाई शक्तिमा बदल्यो। र शोकलाई शक्तिमा बदल्न मुख्यतः केरा लैजाने भन्दाखेरि स्वभाविक थियौं जनताको बहुदलीय जनबाद त्यसको अगुवा कमरेड मदन भण्डारी, उहाँको हत्या यो कुरा आयो। पछि मदन गएपछि नेकपा एमाले पार्टीमा चाहिँ मदन भण्डारी र जनताको बहुदलीय जनवादको नाम लिएपछि अरु वैचारिक, सैद्धान्तिक, राजनीतिको बहस, त्यसमाथिको छलफल, यसको सिर्जन केही पनि गर्न नपर्ने भो। पार्टीभित्र एकखालको मदन भण्डारीको विरासतको लडाइँ जस्तो त्यो भनेको मदन भण्डारीको उत्तराधिकारी को भन्ने खालको एउटा अस्वस्थ प्रतिस्पर्धा चल्यो। यो बिरासतमा बसेर कम्युनिस्ट पार्टी बन्दैन। यतातिर हाम्रो गम्भीर विश्लेषण जरुरी छ।

संसदीय व्यवस्थामा हामी गएका थियौं। संसदीय व्यवस्थाभित्रबाटै हामीले समाजवाद तर्फ जान्छौं पनि भनेका थियौं। त्यति खेर हामीले नयाँ जनवाद अथवा जनताको बहुदलीय जनवाद ल्याउँछौं भनेका थियौं। तर, त्यसमाथिको समस्या २०५४ साल पछाडि हामी कहाँ प्रसस्त देखिन थालिसेका थिए। नेकपा एमाले विभाजित भयो, एमाले विभाजित हुनुमा पनि संसदीय प्रक्रिया, संसदीय व्यवस्थाको योगदान थियोरथिएन भन्नेतर्फ हामीले कहिल्यै छलफल गरेनौं। तर, समस्या त्यहीबाट सुरु भइसकेको थियो। संसदीय प्रक्रिया आफैले समाजवाद ल्याइदिन्न। संसदीय प्रक्रिया एउटा बाटो मात्र हो, एउटा प्रक्रिया मात्र हो। हाम्रो जस्तो समाज विकाशको चरण जहाँ दलाल पूँजीवाद छ र हाम्रो जस्तो भूराजनीतिक अवस्थामा झनै यो संसदीय व्यवस्था भित्रबाट समाजवाद ल्याउने कुरा असाध्यै चुनौतीपूर्ण विषय छ। जसमाथि छलफल आवश्यक छ, छलफल गरिनुपर्छ भन्ने लाग्छ। हिजो मार्क्सले ‘जस्ताको त्यस्तै’ बनिबनाउ राज्यलाई लिएर हामीले समाजवाद ल्याउन सक्दैनौं भनेको जस्तै, मलाई लाग्छ- आजको संसदीय व्यवस्थाबाट, आजकै संसदीय प्रक्रियाबाट यसलाई जस्ताको त्यस्तै राखेर समाजवाद तर्फ जान सकिँदैन। म यसको दुई वटा प्रक्रिया देख्छुः पहिलो, पार्टीभित्रकै सम्बन्धहरू र पार्टी-पार्टीबीचको सम्बन्धलाई हेर्ने हो भने कस्तो अवस्था सिर्जना हुन्छ ? भन्दा, यो संसदीय प्रक्रियामा जसले संसद्मा सिट पुर्‍याउँछ त्यो मात्र राजनीतिक अस्तित्वमा रहन्छ। जसको जति धेरै सिट हुन्छ, त्यसको त्यति प्रभाव हुन्छ। राज्यमा, समाजमा त्यसको हैसियत हुन्छ। जसको थोरै छ, त्यसको कम हुन्छ। जसको छैन, त्यसको केही पनि हुँदैन। अनि यो दलाल पूँजीवादी समाजमा जस्ताको त्यस्तै संसदीय व्यवस्थालाई राखेर, यसमाथि आफूलाई तयार नगरीकन खुरु खुरु चुनावमा जाने भनेको झुटो आश्वासन, झुटो प्रचारको ठुलो प्रयोग हुन्छ। जसले गर्दा समाजमा मान्छेका दुख सुख, समाजवाद, वर्ग, अन्तरविरोध यी सबै कुरा एकदमै गौण हुँदै जान्छन्। अरू तात्कालिक कुराहरू प्रमुख बनिदिन्छन् र बढी भन्दा बढी सिट जित्ने कुरानै मुख्य बन्दै जान्छ। यसले विरोधी विपक्षी पार्टीहरूसँगको सम्बन्ध पनि बढी सिट कसरी जित्ने भन्नेमा मात्र केन्द्रित हुन्छ। किन भने हामीले सिट जित्नुपर्ने छ, सिट जित्नको लागि के गर्ने त भन्दा, जे गर्नुपर्छ त्यही गर्ने। त्यसो गर्दा एउटा क्रान्तिकारी पार्टी स्वतः आफूलाई बचाउने अरू तरिका राख्दैन भने त्यो स्वतः क्रान्तिको कुरा गर्दै, कम्युनिस्ट पार्टीको कुरा गर्दै, दलाल पूँजीवादको सेवा गर्ने ठाउँमा क्रमशः पुग्दै जान्छ। यो चुनाव प्रचार प्रसारका कारणले जान्छ। अरुसँगका सम्बन्धको अन्तरविरोधका दौरानमा आफू त्यस्तो बन्दै जान्छ र पार्टीभित्र कस्तो मान्छेलाई लिने त भन्दा जित्न सक्ने मान्छेलाई। जित्नुपर्ने मान्छेलाई होइन। मैले सधैँ भन्ने गरेको छु( चुनावमा को उठ्छ ? कसले टिकट पाउँछ ? कसलाई टिकट दिनुपर्छ भन्दा जसले चुनाव जित्छ त्यसलाई बिन्ती गरेर टिकट दिनुपर्छ।

कसले जित्छ भन्दा, सामान्यतया कुल घरानाको, मुलत पैसा भएको, समाजमा ड्याङडुङ गर्न सक्ने, बेरोजगार सामाजिक लम्पेन कलास सञ्चालन गर्न सक्ने, त्यो भनेको दारु पानी आदि इत्यादि। यसले राष्ट्रिय राजनीति प्रभावित पारिदिन्छ। अनि पार्टी आफै दबाबमा पर्छ र आफै निर्णय गरेर रक्सिका गेलेन बोकेर हिँड्नुपर्ने बनाउँछ। यो संसदीय व्यवस्थाका केही विशेषताहरू छन्। जसका बारेमा मैले धेरै लामो व्याख्या गरिन्। तर यसबारे सोचौं है भनेर मात्र यो कुरा उठाउन खोजेको हो।

यसले पार्टी(पार्टीका बिचमा पनि अनुत्पादक, धेरै अर्थमा ध्वंसात्मक सम्बन्ध बनाइदिन्छ। त्यो सरलक्कै पार्टीभित्र सर्छ र पार्टीको हरेक सदस्य टिकटका लागि आकांक्ष बनेर जान्छ। अब यो समाजवादी क्रान्ति, पार्टी अनुशासन सबै कुरा क्रमशः सकिँदै जान्छ। एक चोटि हेर्दा देखिँदैन। तर, दुई चार वर्षमा हेर्दा त्यो प्रस्ट देखिन्छ। व्यक्तिको चरित्रमा विघटन प्रस्ट रूपमा देख्न सकिन्छ। यसरी पार्टीभित्र पनि सम्बन्ध ध्वंसात्मक बन्दै जान्छ। खुट्टा तानातान, चरित्र हत्या, टिकट पाउनु पर्ने, टिकट पाएर जित्नु पर्नेछ। टिकट पाउनकै लागि पनि याभित्र अब समाजवादी होइन, एकदमै नितान्त व्यक्तिवादी गुटहरू जन्मिन्छन्। ती सबै गुटहरूले क्रान्तिकै कुरा गर्छन्, पार्टीकै कुरा गर्छन्, समाजवादै कुरा गर्छन्। आवश्यक पर्दा पार्टीको झण्डामा, ब्यानरमा देखाउँछन्। तर, एजेण्डामा देखिँदैन। कुनै पार्टीको एजेन्डा नै प्राय बन्दैन। अथवा केन्द्रीय अन्तरपार्टी प्रणाली, अन्तरपार्टी निर्देशित गरे बमोजिम कुनै पनि कमिटीको समाजवादको चुनौती के हो भनेर कुनै पार्टी कमिटीमा छलफल हुँदैन। जसले समाजवाद ल्याउनु पर्नेछ, त्यहाँ कहिल्यै छलफल हुँदैन। त्यो पार्टीका सादस्यहरुलाई त्यसमा संलग्न गरिँदैन। तिनीहरू त्यसमा सहभागी हुँदैनन्। अनि यो सबै प्रक्रिया माथि माथिबाट हुन थाल्छ। टिकट दिनेहरूबाट हुन थाल्छ। टिकट दिनेहरूका बिच पनि गुटबन्दी हुन्छ। त्यो गुटबन्दी पाउनेहरूमा पनि हुन्छ। अनि सहास्त्र गुटबन्दीमा फस्छ। यो दलाल पूँजीवादमा, हाम्रो जस्तो भूराजनीतिमा, संसदीय व्यवस्थाले एउटा डरलाग्दो चुनौती हाम्रोलागि खडा गरेको छ। मान्छे नै बन्दैन। कोही मान्छे बन्न लाग्यो भने सुरुमै अहिलेको चुनावी तानातानीमा होमेर समाजवाद तीर होइन, त्यही गोलचकरमा फस्छ।

मैले जनताको बहुदलीय जनवाद चुनाव देखि चुनाव सम्मको सिद्धान्त भनेको थिए। म आम रूपमा भन्दै आएको पनि थिए, मलाई भन्न गाह्रो पनि छैन- नेकपा एमालेको जनताको बहुदलीय जनवाद भनेको चुनाव देखि चुनावसम्मको सिद्धान्त बन्यो। मैले २०५४ साल पछि त्यो भनेको छु। त्यो किन भने भन्दा, दलाल पूँजीवाद र हाम्रो भूराजनीतिक सेटअप भित्र एउटा नेकपा मालेबाट विकशित भएर आएको नेकपा एमाले एउटा चुनावी पार्टीका रूपमा एक खालले विघटित भयो भने पनि हुन्छ, कथित भयो भने पनि भयो, त्यो दर्जामा पुग्यो। यो हरेक राजनीतिक पार्टीका लागि ठुलो चुनौती हो। संसदीय लोकतन्त्र मार्फत समाजवाद ल्याउँछु भन्ने जो सुकैका लागि यो चुनौती हो भन्ने मलाई लाग्छ। यसले मान्छे कसरी, कसरी किन्छ भन्ने मैले भन्नै पर्दैन।

व्यक्ति व्यक्तिका सम्बन्धहरू अब त्यो कुनै समाजवादी कमरेडले जस्तो क्रान्तिकारी सम्बन्धहरू बन्दैनन्। एकदमै विपक्षी, एकदमै अन्तरविरोधपूर्ण, हरेकले हरेकलाई सक्ने अन्तरविरोधपूर्ण सम्बन्धहरू बन्दै जान्छ। कम्तीमा गुटहरूका बिचमा त त्यो बन्दैन। त्यसको एउटै कारण हो, चुनाव जित्नुपर्ने छ। चुनाव के ले जितेको छ ? मुलत पैसाले जितेको छ। पैसा कसरी प्राप्त हुन्छ ? पद पाएपछि पैसा प्राप्त हुन्छ। त्यो मेयर भएपछि हुन्छ, उपमेयर भएपछि हुन्छ। किनभने त्यहाँबाट ठेक्का पट्टा आदि इत्यादि हुन्छ। त्यो सांसद भएपछि हुन्छ, मन्त्री भएपछि त कति हुन्छ हुन्छ। प्रधानमन्त्री भएपछि त सर्वस्व भइहाल्छ। चुनाव किन चाहियो ? पैसा कमाउन चाहियो। पैसा किन चाहियो ? चुनाव जित्न चाहियो। यसमा दोण्दात्मक सम्बन्ध छ। पैसाले चुनावको टिकट किन्छ। टिकटले अझै ठूलो पैसा दिन्छ। अझै ठूलो पैसाले अझै ठूलो टिकट दिन्छ। अझ ठूलो टिकटले अझ ठूलो पैसा दिन्छ। यसरी यो बढ्दै जान्छ। यसको दोण्दात्मक सम्बन्ध छ, दलाल पूँजिवादसँग। यो दुष्चक्र तोड्न नसक्दा पब्लिक पार्टीहरू यसै भित्र फस्छन्। अनि वैदेशिक शक्तिहरू एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा फस्छ र त्यसले जे जे गराउनु पर्ने छ, त्यसले रमिता देखाउने छ। गएका संसदीय निर्वाचनमा भाग लिएको जति समय भयो, त्यो एक ठाउँमा राखेर दुई चार जना साथीहरू एउटा जिल्लाको मूल्यांकन गरौं भनेर हेर्ने हो भने त्यहाँ राम्रो एकाउण्ट त्यहाँ देखा पर्छ। त्यहाँ गुटबन्दीको तानातानको, चरित्र हत्याको, विचार सिद्धान्त हिन्ताको, राजनीतिक हिन्ताको, संगठनको विध्वंसको सारा चिज त्यहाँ देखिन सक्छ भन्ने मलाई लाग्छ।

समाजवादमा संसदीय व्यवस्थाको चुनौती आज हाम्रो आन्दोलनले दिन दिनै व्यहोरिरहेको छ। जसका पछाडि दलाल पूँजीवाद र भूराजनीति छन्। यसअर्थ दलाल पूँजिवाद र भूराजनीतिक शक्तिहरूको संसदीय व्यवस्था आजको समाजवादी क्रान्तिको चुनौती हो। यसअर्थमा हाम्रा पार्टी कमिटी कस्ता छन् भन्ने प्रश्न छ। अब कहाँबाट सुरु गर्ने ? सरकारमा गएर ? हुँदैन। सरकारमा धेरै पटक गयौं। ०४७ सालमा सरकारमा गएको कम्युनिस्ट पार्टीका लागि आज पनि समाजमा छुवाछुत छ र यत्रो ठूलो मुद्दा बन्छ भन्ने कुरा त्यो भन्दा ठुलो लज्जा हुनुपर्ने अरू के छ होला र १ हामीले राजनीतिक एजेण्डाको प्रचार प्रसार गर्‍यौं तर वास्तवमा आधारभूत सामाजिक मुद्दाहरुमा हामीले, हाम्रो राजनीतिले, हाम्रा राजनीतिक मुद्दाहरूले समाजका अरू मुद्दा रूपान्तरित भएकी भएनन् हेर्ने हो भने अहिले चर्चामा भएको रुपा सुनारको घटना प्राप्त छ। समाजवादको चुनौती आफै कम्युनिस्ट पार्टी हो भन्ने लाग्छ मलाई। कम्युनिष्ट पार्टीका नाममा बनेका तर दलाल पूँजीवादले हाइज्याक गर्दै गइरहेका पार्टीहरू आज समाजवादका लागि चुनौती हो।

अवसरको विषयमा अलि धेरै छलफल गर्न सकिन्छ। अवसरको कुरा गर्दाखेरि नेपालको कम्युनिस्ट जनमत नै हो। त्यो कम्युनिस्ट जनमत किन बन्यो भन्दा ऐतिहासिक तह एउटा न एउटा कम्युनिस्ट पार्टी लोकतन्त्रको पक्षमा रही रह्यो। काँग्रेसले लोकतन्त्रको नाराबाट आफ्नो राजनीतिक स्पेस बनायो। त्यो स्पेसमा कम्युनिस्ट पार्टीले साझेदारी गर्‍यो। राष्ट्रियताको नारामा दरबार टिक्यो। तर, स्वयं कम्युनिस्ट पार्टीहरूको पनि त्यो नारा बन्यो। जनजीविकाको नारामा उनीहरू साझेदारी गर्दैनन्। यसले गर्दा राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको नारा, नेताका रूपमा कम्युनिस्ट पार्टी आएर यत्रो जनमत आज बन्यो। यो एउटा अवसर हो। संविधान कम्युनिस्ट पार्टीका दबाबका कारण बन्यो। यसलाई धेरै डकुमेन्टमा प्रमाणित गर्न सकिन्छ। यो जनमत, यो संविधान यस्ता चिजहरू हुन्, समाजवादका लागि, समाजवादी क्रान्ति आन्दोलन अगाडि बढाउनका लागि असाध्यै महत्त्वपूर्ण छन्। यी दुई वटा कुरा भए। यिनलाई प्रयोग गर्दै हाम्रो ती चुनौतीहरू दलाल पूँजीवाद, भूराजनीतिक शक्ति र संसदीय व्यवस्थाले खडा गरेको चुनौतीविरुद्ध हामी कसरी लड्छौं भन्ने कुरा महत्त्वपूर्ण छ। सरकारमा गएर हुन्छ ? भएन ०४७ साल देखि सरकारमा गइरहेका छौं। कर्मचारी युनियन बनाएर हुन्छ ? हुँदैन, दलाल पूँजीवादमा अरुकुरा नबदलिएर कर्मचारी युनियन बनाउने भनेको तिनले पनि दलाल पूँजीवाद उत्पादन गर्छन्। दलाल पूँजीवादमा अरुकुरा यथावत् राखेर पार्टी चलाउँदा तीनले दलाल पूँजीवादी नेताहरू जन्माउँछन्। तिनकै उत्पादन पूनर्उत्पादन हुँदै जान्छ। कार्यकर्ताहरूको पनि, पार्टीको पनि आम रूपमा त्यस्तै हो। जुन पार्टीले दलाल पूजीपतिहरु र दलाल पूँजीपतिका पिछलकुहरु तयार गर्छ, त्यसले कस्तो क्रान्ति गर्छ ? यसले समाजवादी क्रान्ति गर्छ त ? अर्को समाजवादी मान्छे बनाउँछ ? बनाउँदैन। आजको दलाल पूँजीवादी समाजबाट राजनीतिमा बहुत थोरै मान्छे सिद्धान्त आदि इत्यादि बुझेर आउँछ। मूलतः आफ्नो सुरक्षाका लागि आउँछन्। आफ्नो नामको सुरक्षाका लागि, आफ्नो आर्थिक सुरक्षाका लागि, आफ्नो सामाजिक सुरक्षाका लागि लगायतका अन्य सुरक्षाका लागि मान्छेहरू राजनीतिमा आउन बाध्य हुन्छ। त्यस्तो परिस्थिति बन्छ। लोकतान्त्रिक मुलुकहरूमा, लोकतान्त्रिक समाजहरूमा। अनि यस्तो प्रक्रियाबाट समाजवादी निक्लिन्छन् छ ? हाम्रो अर्थ राजनीति, हाम्रो समाजशास्त्र, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, हाम्रो पार्टी, हाम्रो समाजवाद, हाम्रो चुनौतीहरू यी सबै विषय हरेक पार्टी कमिटीमा राखेर छलफल गर्ने र त्यहाँबाट अगाडि बढ्ने अवस्था नबनाउँदा सम्म हामी चुनौतीकै भासमा परिरहन्छौं। आज हाम्रो यस्तो आन्दोलनबाट कमरेड ओलीको जन्म किन भयो ? हाम्रो भूराजनीतिक, हाम्रो दलाल पूँजीवाद, संसदीय व्यवस्थाबाट जन्मिएका हुन्।

हाम्रो भूराजनीतिक, हाम्रो दलाल पूँजीवाद, संसदीय व्यवस्था यी तीन कुरालाई राखेर हेर्दा हरेक मान्छे किन बिग्रिँदै छ, किन बन्दै छ ? भन्ने कुरा सबै देखिन्छ। हरेक क्रान्तिकारी प्रक्रिया किन बिग्रियो भनेर हेर्नुहुन्छ भने यी तिन चुनौतीलाई हामीले कहीँ सामना गर्न सकेका छौं, त्यहाँ सफल भएका छौं। त्यहाँ अलिकति क्रान्तिकारी जस्तो, अलिकति कम्युनिस्ट जस्तो, अलिकति समाजवादी जस्तो देखिन्छौं। जहाँ हामीले त्यसको प्रतिरोध गर्न सकेका छैनौं, तिनका चुनौतीलाई हामीले सामना गर्न सकेका छैनौं त्यहाँ हामीले पराजय बेहोरेका छौं। हामीले घुँडा टेकेका छौं। त्यसअर्थ आजको समाजवादी क्रान्तिको चुनौती स्वयं कम्युनिस्ट पार्टीहरू खासमा समाजवादी नबन्नु हो। कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी छैन। मुलत कुरा यही हो। कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी बनाउने चुनौती नै आज समाजवादी क्रान्तिको चुनौती हो।

(मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित  ‘समाजवादी क्रान्ति : अवसर र चुनौती 'विषयक विचार गोष्ठीमा नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालद्वारा व्यक्त विचारको सम्पादित अंश।)