शनिबार, आश्विन १७ गते २०८३

राखे हेक्का याे राम्रै हाेला

चैत्र २३, २०७८ बुधबार
राखे हेक्का याे राम्रै हाेला
kabita_prasna.jpg
आलोक
किन सताउछौ आश्वासनका
मीठा मीठा पुडिया बाँडी ?
आऊ लागौं जन सेवामा
पाखण्डको त्यो बाटो छाडी
देखियो सब झूटा बोली
केस्रा-केस्रा सब खोली खोली
आफ्नै निहीत स्वार्थ मिसाई
जन समुदायहरुलाई फसाई
धन-बल,बाहु-बलको भरमा
पार्छाै किन हो यो अक्करमा ?
पोल खुली सब नाङ्गै बन्दा
अझ पनि ठगीकै कालो धन्धा ?
नीति बिनाको राज चलाई
कसरी होला देश भलाई ?
धोकै धोकाहरुको भारी
बोकायौ किन अत्याचारी ?
मिल्काई दिन्छ है इतिहासले
जाग्छन् जनता जब साहसले
राखे हेक्का याे राम्रै होला
नभए बद्लिन सक्तछ चोला
शोषण दमनको खनी चिहान
ल्याउँनै पर्ने नयाँ बिहान
जनताको चीर ब्यथा यही हो
बिश्वभरीकै कथा यही हो ।