शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकले भन्यो गाडी आयातको एलसी नखोल्नु, ७ महिनाभित्र ७० अर्बको गाडी र पार्टपुर्जा आयात

चैत्र २२, २०७८ मंगलबार
राष्ट्र बैंकले भन्यो गाडी आयातको एलसी नखोल्नु, ७ महिनाभित्र ७० अर्बको गाडी र पार्टपुर्जा आयात

 

नेपाल राष्ट्र बैंकले विनिमय सञ्चितमा कमी आय अर्थतन्त्रमा वित्तीय चाप परेपछि अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेता पनि त्यसको पालना नभएको देखिएको छ । विलासिताका वस्तु तथा सामग्री आयात गर्न कडाइ गरिएपनि सवारीसाधान आयातमा उल्लेख्य रुपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब माथिका गाडी तथा पार्टपुर्जा आयात भएको पाइएपछि राष्ट्र बैंक एक्सनमा उत्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले  २७ वटै वाणिज्य बैंकका सीइओलाई बोलाएको यस्तो निर्देशन दिएको हो । 

छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए ।

बैठकमा सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुगिसकेकाले यसलाई सीमामा ल्याउन भनेका हुन् । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेको तथा अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न भनेका थिए । विदेशी विनिमय विभागका पौडेलले विदेशी सन्चिती घट्दो अवस्थामा रहेको बताए । 

‘देशको अर्थतन्त्रको अवस्था राम्रो छैन, विदेशी सन्चितीमा चाप छ, गाडी आयात रोक्नुपर्ने भयो,’ श्रेष्ठले बैठकमा बताए । 

बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले राष्ट्र बैंकले प्रष्ट रुपमा गाडी आयातको एलसी केही समयलाई रोक्न निर्देशन दिएको बताए । राष्ट्र बैंकले गाडी आयात रोक्न औपचारिक रुपमा निर्देशन नदिएपनि बोलाएर निर्देशन दिएको हुँदा केही समय गाडी आयातको एलसी नखुल्ने ती सीइओले जानकारी दिए ।

‘हामीले औपचारिक रुपमा निर्देशन दिन नमिल्ने हुँदा बैठकमा बोलाएर एलसी रोक्न भनेका हौ, गाडीको आयात अब केही समय नहोस् भन्ने हाम्रो चाहना हो,’ बैठकमा उपस्थित राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुले भनेका थिए । यसबाहेक राष्ट्र बैंकले चकलेट सहित आवश्यक नपर्ने वस्तुको समेत एलसी नखोल्न भनेका छ ।