
६५ औं राष्ट्रिय सहकारी दिवस । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी मनाइराखिएको छ । विगत दुई वर्ष कोभिड १९ को महामारीका कारण सहकारीकर्मीहरुले खुलेर सहकारी दिवस मनाउन पाएका थिएनन् । यस वर्ष भने कोभिड १९ को असर सामान्य मात्र रहेकाले सहकारीकर्मीहरुले खुलेर दिवस मनाएका छन् ।
राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघहरुको अगुवाईमा दिवसका अवसरमा विभिन्न कार्यक्रम भइराखेका छन् । दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ लाई कार्यान्वय गर्ने विषयमा महासंघ, जिल्ला संघ र प्रारभ्मिक संस्थाहरुले गोष्ठी एवं अन्तक्र्रिया चलाइराखेका छन् । त्यसैगरी सहकारी बैंकले आफ्ना शाखाहरुमार्फत ‘लघु गोष्ठी’ आयोजना गरेको छ । जिल्ला संघहरुले स्थानीय तह र सहकारीको भूमिका विषयक अन्तक्र्रिया आयोजना गरेका छन् । त्यसैगरी जिल्ला संघ र बचत संघको अगुवाईमा जिल्लाजिल्लामा प्रभातफेरी, मोटरसाइकल र्याली, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम रक्तदान, झण्डोत्तोलन, वृद्धाश्रममा भोजन, विरामीहरुलाई फलफुल दान जस्ता गतिविधि आयोजना भएका छन् ।

२०१३ साल चैत्र २० गते चितवनमा स्थापना भएको बखान सहकारीलाई आधिकारिक मान्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाईंदै आएको छ । दिवसले सहकारीको महत्व र आवश्यकता आम जनमानसमा फैलाउने, वर्षभर भएका गतिविधिको समीक्षा गर्ने, राज्यलाई सहकारीको आवश्यकताका र महत्वको बारेमा दर्शाउने एवं सहकारी मुल्यमान्यता र सिद्धान्त अनुरुप चलाउन अभिप्रेरित गर्दछ ।
काठमाण्डौ उपत्यकामा विविध कार्यक्रम आयोजना गरिएका छन् । भक्तपुर बचत संघको अगुवाईमा स्थानीय भेषभुषा, बाजागाजा र झाँकीसहितको प्रभातफेरि गरिएको छ । त्यसैगरी ललितपुरमा जिल्ला सहकारी संघको अगुवाई मा र्याली, रक्तदान र गोष्ठी आयोजना गरिएको छ । काठमाण्डौ जिल्ला संघले पनि दिवसको अवसरमा स्थानीय तहहरुमा रक्तदान, भोजनदान, अन्तक्र्रिया लगायतका कार्यक्रम गरेको छ ।







