शनिबार, आश्विन १७ गते २०८३

नेकपाको अध्यक्षमा सुवेदी, महासचिवमा मल्ल निर्वाचित, सम्मेलनपछि पार्टीपंक्तिमा उत्साहको सञ्चार

चैत्र १७, २०७८ बिहीबार
नेकपाको अध्यक्षमा सुवेदी, महासचिवमा मल्ल निर्वाचित, सम्मेलनपछि पार्टीपंक्तिमा उत्साहको सञ्चार

नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीको अध्यक्षमा लोक नारायण सुवेदी, उपाध्यक्षमा भीम प्रसाद सेढाइ र महासचिवमा शरण विक्रम मल्ल निर्वाचित गरेको छ । त्यसैगरी पार्टीको सचिवद्वयमा महेन्द्र्र जोशी र रामदुलार महतो निर्वाचित भएका छन् । पार्टीको कोषाध्यक्षमा सीता सुवेदी र सचिवालय सदस्यहरुमा भीमकुमार बान्तवा, भुमिप्रसाद ढुंगाना, बद्रिनाथ अधिकारी, नरेन्द्र बहादुर तण्डुकार र चन्द्रदेव राम रहेका छन् । त्यसैगरी कुल ५५ सदस्यीय केन्द्रीय समिति र ८३ सदस्यीय राष्ट्रिय परिषद् समेत चुनिएको छ । 

नवनिर्वाचित अध्यक्ष सुवेदीले लामो समयपछि पार्टीको सम्मेलन बिधिबत सम्पन्न भएको र सम्मेलनबाट पूर्ण रुपमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय समिति सदस्य सहित राष्ट्रिय परिषद्का सदस्यहरु समेत चयन भएबाट पार्टीपंक्तिमा नयाँ उत्साहको सञ्चार भएको उल्लेख गर्दै कमरेड पुष्पलालकाे नेपाली जनता र राष्ट्रप्रति समर्पित बिचार, नीति र सिध्दान्त वरिपरी गाेलबन्द हुन शाेषित पीडित नेपाली श्रमजीबी जनतामा उनले अह्वान गरे । 

त्यसरी नै नब निर्बाचित पार्टीका उपाध्यक्ष भीमप्रसाद सेढाईंले सम्मेलनपछि प्रतिक्रिया दिँदै यूवा, महिला र प्राैढ सबैकाे समानुपातिक  सांगठनिक संरचनाले पूर्णता पाएसँगै अब पार्टीको कार्यक्रम नयाँ जनवादी क्रान्तितर्फ कार्यनीतिक अग्रसरता   रहने जानकारी दिए । पदाधिकारी, सचिवालय र केन्द्रीय समिति नयाँ र युवा सदस्यहरुको उपस्थितिले पार्टी र क्रान्तिको भविष्य उज्ज्वल देखाएको बिश्वास पनि उनले ब्यक्त गरे । 

पार्टीका महासचिव मल्लले यस अघि पौष महिनाको १७ देखि १९ गतेसम्म पार्टीको सम्मेलन आयोजना भएता पनि विवाद उत्पन्न भई राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, आर्थिक प्रतिवेदन पारित हुन नसकेको तथा केन्द्रीय समितिको निर्वाचन समेत नभएको हुँदा स्थगित सम्मेलनले चैत्र ११ र १२ गते पूर्णता पाएर कार्यभार पूरा गरेको जानकारी दिए । उनले  सम्मेलनले एउटा स्पष्ट  निचोड दिएकाले देशभरका पार्टी कार्यकर्ताहरु उत्साहित भएको पनि जनाए । 

सात दशक अघि राणाकालीन समयमा १५ सेप्टेम्बर १९४९ का दिन कमरेड पुष्पलालकाे पहल र नेतृत्वमा स्थापना भएकाे नेपाल कम्युनिष्ट पार्टीले मार्क्सवाद, लेनिनवाद माओ विचारधाराका आधारमा कमरेड पुष्पलालद्वारा प्रतिपादित विचार, सिद्धान्त, नीति र कार्यक्रमलाई आत्मसात गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य लिएको छ ।