इन्धनको प्रयोग घटाउन नेपाल आयल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
पछिल्लो दिनमा इन्धनको मूल्यमा निरन्तर वृद्धि हुँदा निगमको घाटा बढ्दै गएपछि सार्वजनिक सरकारी साधनहरूको प्रयोग कम गराउने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको हो ।
निगमले उद्योग मन्त्रालयलाई १० बुँदे प्रस्ताव मन्त्रालयमा पेश गरेको छ । जसमा पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र डिजलको खपत कटौती गर्न संवेदनशिल क्षेत्र वा निकायबाहेकका निजी सरकारी सवारी साधन जोर विजोर प्रणाली सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युुतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्नेमा जोड दिनुपर्ने निगमले जनाएको छ ।
नेपाल सरकारले केही समयका लागि पेट्रोलियम पदार्थमा लिईदै आएको भन्सार शुल्क, मूल्य अधिवृद्धि कर, पूर्वाधार शुल्कलगायतका शुल्कमा प्रतिलिटर १५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँसम्मले सरकारी शुल्कहरू मिनाहा गर्नुपर्ने जनाएको छ । र बाँकी घाटा मूल्य समायोजनाबाट मिलान गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, खाना पकाउन एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आह्वान गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको अपत नगरी विद्युतको खपत बढाउन आह्वान गर्ने र छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्न आह्वान गर्ने प्रस्ताव गरेको निगमले जनाएको छ ।