(वि.स.१९९२-२०३७) लाई काठमाडौँले केही दिएन । अभाव र गरिबीमा उनको दैनिकी व्यतित भएको पाइन्छ । तर उनले नेपाली काव्य साहित्यको भण्डारमा अमूल्य वस्तु दिएर गए, जो कहिल्यै लोप हुँदैन।
त्रि.वि. नेपाली शिक्षण विभागले आयोजना गर्ने कार्यक्रमहरूमा समयका प्रसिद्ध कविहरू - बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कट्वाल, भरतराज पन्त आदि कविहरूलाई ल्याएर भानु, मोती, देवकोटा, लेखनाथ जयन्तीमा हामी विद्यार्थीहरू काव्यगोष्ठीको आयोजना गर्दथ्यौं । कविहरूले पनि कविता वाचन गर्ने कार्यक्रम हुन्थ्यो ।
हरिभक्त कट्वालले कविता वाचन गरेको सर्वप्रथम मैले यहीं सुनेको हुँ । "यो जिन्दगी खै के जिन्दगी" कविता वाचन गर्दा जुन प्रकारको ध्वनि- तरङ्ग पैदा हुन्थ्यो, त्यसले सबै श्रोता मुग्ध हुन्थे । मनमौजी स्वभावका कट्वाल परिवारबाट टाढा बसेर काठमाडौंमा स्वतन्त्र जीवन बाँचिरहेका थिए ।
उनका समकालीन कवि - साहित्यकारहरूले कट्वाललाई "आफू र परिवारको चासो नगर्ने मानिसको" रूपमा चित्रित गरेता पनि उनले आफ्नो भाइलाई लेखेको एउटा पत्र (यद्यपि यो धेरै पुरानो हो) मा जीवनका रहस्यहरूको उद्घाटन गर्नुका साथै पारिवारिक सद्भाव, माया, स्नेह आदिको सुन्दर वर्णन गरेका छन् । यो पत्रमा एउटा विशिष्ट सारवाक्यको उल्लेख गरेका छन्- " एउटै आमाको कोखबाट जन्मेर मात्र कोही आफ्नो हुँदैन । बनाउन जाने संसारै आफ्नो - बुझिस् ! नभए आफ्ना पनि विराना" ।
विद्यार्थी जीवनमा मलाई ठूला-बडाहरूबाट अटोग्राफ लेखाई राख्ने रहर भएअनुरुप हरिभक्त कट्वालबाट २०३५ भाद्र १७ गते कीर्तिपुर क्याम्पस, नेपाली विभागको कार्यक्रममा लेखिमागेको अटोग्राफमा उनले आफ्नै हस्ताक्षरमा मुक्तक लेखिदिए- "मनका पनि धेरै पत्र हुँदा रैछन् कतै । पहिलो पत्र पल्टाइ हेर्दा तिमी जताततै ।"
२०२६ सालमा काठमाडौं आएका हरिभक्त कट्वाल ११ वर्षपछि २०३७ सालमा दुईवटा फूलका विरूवा (काठमाडौंलाई सम्झाउने) बोकेर आसाम फर्किए । त्यसपछि उनले काठमाडौंलाई फर्केर हेर्नु परेन ।
काठमाडौंको पुतलीसडकमा हरिभक्त कट्वाललाई भेटिने गर्थ्यो । पुतलीसडकको फुटपाथमा आफूलाई सम्हाल्न नसकेर कहिलेकहीं लर्बराइरहेको अवस्थामा भेटिन्थे । सामान्य अवस्थामा उनी शालीन देखिन्थे ।
बि सं १९९२साल आषाढ १८ गते आसामको डिब्रुगडमा जन्मिएका हरिभक्त कट्वालको २०३७ साल भाद्र २५ गते आफ्नै जन्मभूमि टेकेको तीन महिना पनि नपुग्दै डिब्रुगडस्थित मेडिकल कलेजमा उपचारको क्रममा देहावसान भयो ।
साैजन्य - चन्द्रमणि गाैतम (सामग्री स्रोत : प्राध्यापक तथा साहित्यकार श्री गंगाधर कट्टेल (विराटनगर) को रचना उहाँकै फेसबुक पोस्टबाट।)