
—लोकनारायण सुबेदी
बितेको शताब्दीको अन्तिम दशकमा समाप्त भएको दुइ ध्रुबीय बिश्व ब्यवस्था पुनः फिर्ता आउन थालेको एकथरीले बिश्लेषण गर्न थालेका छन् । यसलाई चिनको चौतर्फीरुपमा फैलँदो शक्तिका कारण यस कुराको संकेत त्योभन्दा पहिलादेखिनै मिल्न थालेको उनीहरुले औंल्याउदै आएका हुन् । तर पनि अहिले चिनीयाँ कम्युनिष्ट पार्टीको १०० बर्ष पुगेको सन्दर्भमा चिनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङ्गले ऐतिहासिक तेनआनमेन चोकमा दिएको शतबार्षिकी भाषणलाई लिएर उनीहरुले बिष बमन गर्न थालेका छन् । शीले त्यहाँ भनेका थिए कि चीनको एकता, अखण्डता र सम्प्रभूतालाई खण्डित गर्ने कसैले कोशिश गर्दछ भने तिनको शीर कुल्चिइने र तिनले ठूलो मूल्य चुकाउनु पर्नेछ । उनीहरुले चीनका राष्ट्रपतिको यो सार्बजनिक भाषणलाई लिएर कडा आलोचना गर्न थालेका छन् ।
कुनै देशको नाम नलिइकन चीनको सार्बभौमिक अखण्डता र स्वाधीनतामाथिको खतराका सन्दर्भमा गरिएको त्यो भाषणले इण्डो–पश्चिमा शक्ति र तिनका पिछलग्गुहरुको निन्द्रा भंग भए जस्तो देखिदैछ । उनीहरुले त्यो भाषणलाई असभ्य, उत्तेजनात्मक र अमर्यादित भन्ने संज्ञा दिन पनि पछि परेका छैनन् । यद्यपि कुनै देशको नाम नलिइकन त्यस्तो भाषण गरेको तर त्यो अमेरिका बिरुद्धको भाषण हो भन्ने पनि औंल्याएका छन् । त्यसप्रकारको भाषण किन गरेको भन्ने बारेमा पनि उनीहरुले कारण गनाएका छन् । पहिलो कुरा त हङ्गकङ्ग र ताइबानको मामिला अमेरिकाको लगातारको दख्खल हस्तक्षेपको कुरा छ । ताइवानलाई आफैसँग जोड्ने मूख्य चीनको ऐतिहासिक लक्ष रहेको कुरा पहिलादेखिनै सबैलाई थाहा छ । यस कुरालाई चीनले कहिले पनि ओझेलमा पर्न दिएको पनि छैन ।
बिश्व ब्यापारको दृष्टिले ठूलो रणनीतिक महत्वको दक्षिण चीन सागर(साउथ चाइना सी)मा प्रभूत्व जमाउने लडाईमा अमेरिका चीनको बाटोको रोडा बनेको कुरा बिश्व बिदित नै छ । अमेरिका र चीन दुबै महाशक्ति राष्ट्रका बीच ब्यापार युद्धमा पहिलादेखि नै दुबैले तरबार खैंचिरहेकै छन् । इण्डो–पश्चिमाहरु चीनले जुन लक्ष तय गर्दछ तर त्यसको प्राप्तिको लागि नियम तय गर्दैन भन्ने बिश्लेषण पनि गर्दै आएका छन् । त्यसै निचोडमा उनीहरु चीनलाई लोकतन्त्रसँग टकराउ गर्ने शक्तिकोरुपमा चित्रित गर्दै आएका छन् । त्यसले चीन केवल अमेरिकाको मात्र होइन अमेरिकासँग बिश्व ब्यवस्था बनाएका मित्र मुलुकहरुसँग पनि खतरा रहेको निचोड निकालिरहेका छन् । चीनलाई लिएर यसरी बाइडेन प्रशासनको पनि यसरी के मान्यता रहेको छ भने चीनले यसै कारणले इरान र उत्तर कोरियाजस देशसँग गठबन्धन बनाइरहेको अर्थ लगाइरहेको छ र यसलाई बिश्व शान्तिको निम्ति खतरा साबित हुनसक्ने ठानिरहेको छ । त्यसो भएकोले यस आशंकमा स्वयं अमेरिकाका लागि पनि ठूलो चेतावनी छिपेको र यसको बिरुद्ध एउटा सबल प्रतिगठबन्धन बनाउनुपर्ने स्तरमा पुगिरहेको छ ।
भारतीय सत्ता नजिकका बुद्धिजीवी र पत्रकारहरु पाकिस्तानलाई अमेरिकाले आफ्नो अगाडि पछाडि लाउन छोडेकोले पाकिस्तान चीनतिर लागेको र चीनले बिकासको घुँटी पिलाएर पाकिस्तानलाई आफ्नो बशमा पारेको भन्ने सम्मको कुरा दोहोराइरहन पनि थाक्दैनन् । तर स्वयं अमेरिकाको बशमा परेको र ‘क्वाड’ बनाएकोमा भने गर्ब गर्न बिर्सदैनन् । अनि चीनले पाकिस्तानलाई आर्थिक मद्दत गर्ने भनेर उसलाई कंगाल तुल्याइरहेको नक्कली चिन्ता पनि ब्यक्त गर्ने गर्दछ भने अर्कोतिर पाकिस्तान चीनतिर गएर अमेरिकालाई आँखा देखाउन थाल्यो भनेर पनि अमेरिकाको ताबेदारी गर्ने गर्दछन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनलाई पश्चिमी लोकतन्त्रको बिकल्पकोरुपमा ब्याख्या गरेको र हेरेको भनेर पनि अमेरिकाको ताबेदारी गर्न भारतीय सत्ताधारी बर्ग चुकेको छैन ।
यस घटना क्रममा भारतका लागि पनि सन्देश छ भन्ने उल्लेख गर्दै एक समय अफगानिस्तानमा तालिबानका बिरुद्ध जस्तो किसिमले पाकिस्तान अमेरिकाको बिवशता बनेको थियो त्यसरी नै भारतका बिरुद्ध आज पाकिस्तान चिनको लागि आबश्यक बन्न गएको कुरा पनि भन्न बाँकी राखेको छैन । थप के पनि भन्न बाँकी राखिएको छैन भने चीन यो कुरालाई राम्रोसँग बुझ्दछ कि जसरी बिश्व स्तरमा अमेरिका चीनको लागि चूनौति छ, त्यसरी नै एशियामा एउटा भारत नै चीनलाई रोक्ने दम राख्दछ । डोकला र गलवानमा भएका घटनाहरुलाई भारतका बिश्लेषकहरुले यसका लागि सबूत प्रमाण दिएका छन् । अनि आउदा दिनमा यो सन्तुलन कत्तिको कायम रहने हो त्यो भने धेरै हदसम्म रुसमाथि भर पर्दछ भन्ने पनि औल्याउने गरेका छन् । यस स्थितिमा अमेरिकासँग हिड्ने भारतका लाग एउटा नाजुक डोरीमा हिड्ने जस्तै भनेर पनि महसुश त्यस्ता बिश्लेषक भारतीयहरुले निचोड निकालेका छन् ।

रुसले पनि भारतले जस्तै सबै देशहरुसँग मैत्रीपूर्ण सम्वन्ध कायम गर्ने कुरा भन्दै आएको छ । तर जब कुरा अमेरिकाको आउँदछ त्यतिबेला रुसको साथ चीनतर्फ जान्छ भन्ने पनि भारतका बिश्लेषकहरुको निष्कर्श छ । त्यसैले उनीहरु ‘क्वाड’ अमेरिका, भारत, अष्ट्रेलिया र जापानको चीन बिरोधी ‘चौगुट’बन्नुलाई महत्वपूर्ण र सही ठहराइरहेका छन् । यस चौगूटमा भारतको संलग्नतालाई लिएर रुसका राष्ट्रपति पुटीनले स्पष्ट भनेका छन् कि कुनै राष्ट्रले कुनै अन्तर्राष्ट्रिय पहलमा कुन हदसम्म सम्वन्ध बनाउने र सामेल हुने कुरा आ–आफ्नो कुरा हुने भयो नै । त्यसबारेमा तय गर्ने त मास्कोको कुनै अधिकार हुने भएन । तर कुनै देशका बिरुद्ध मोर्चाबन्दी गर्ने ‘स्क्वाड’ जस्तो संगठनको कुरा अउँदछ यस्तो साझेदारी आपसी हितका आधामा हुनु पर्दछ कुनै एक देशको बिरुद्ध होइन भन्ने रुसको प्रष्ट मत रहँदै आएको छ । रुसको यो प्रष्ट मत बेइजिङ्गको त्यो मतसँग मेल खान्छ कि ‘हिन्द–प्रशान्त क्षेत्रमा चीनमाथि लगाम लगाउने अमेरिकी षडयन्त्र हो यो’।यद्यपि जेनेभामा बाइडेन–पुटीन पछिल्लो भेटबार्तापछि यो कुरा पनि इतिहासको कुरा हुन पुगेको भनेर भारतेलीहरु सत्ता प्रतिस्ठानका बिज्ञहरु खुशी भइरहेका देखिन्छन् र त्यो भेट बार्तालाई ‘गेम चेञ्चर’को संज्ञा दिन पनि पछि परेका छैनन् ।
समग्र तिनको बिश्लेषण अनुसार वाइडेन चीनका बिरुद्ध एउटा ठूलो मोर्चा बनाउन लागि परेका र बिश्व स्तरीय कसरत गरिरहेका छन् ।उनी यूरोपेली यूनिनय र नाटो पछि हालेको जी –७ शिखर सम्मेलनमा पनि यो बिचारलाई सबल बनाउन सफल भएको पनि बताउँदैछन् । एशिया र हिन्द–प्रशान्त क्षेत्रमा चीनसँग जापान, इण्डोनेशिया, भियतनाम, अष्ट्रेलिया, जस्ता देशहरुका लागि त यो खुशीको खबर हो भनिरहेका छन् । यसै स्थितिमा बाइडेनले पुटीनसँग असफल नै भए पनि बार्ता गरेको देखिन्छ । यद्यपि रुसको चीनसँगको सबल सम्वन्धको परिप्रेक्षमा बाइडेको पछिल्लो पुटीनसँगको बार्ता एउटा औपचारिकता जस्तो मात्रै देखिदैछ । रुस कत्तिको दह्रो राष्ट्रछ भन्ने कुरा पनि बाइडेनलाई थाहा नभएको होइन ।
इण्डो–अमेरिकी लब्बीले चीनलाई बिस्तारबादीको संज्ञा दिदै बिभिन्न देशहरुलाई चीनका बिरुद्ध उक्साउन जोडदार प्रयत्न गरिरहेकै छन् । रुसले पश्चिमा शक्तिहरुसँग अलि टाढाको दूरी बनाउने नीतिको फाइदा अन्तर्राष्ट्रिय रुपमा चीनले लियो भन्ने कुरा अघि सारेर रुस–चीन घनिष्ठतामा भाँजो पार्न सकिने कुरामा यो लब्बी तल्लिन रहेको देखिदैछ । त्यसले चनिले रुससँगको सम्वन्धमा समान धरातलभन्दा तल राखेर हेर्छ भन्ने जाली कुरा गरेर पनि उक्साउन चाहेको औंल्याइदैछ । पुटीन चीनको पिछलग्गु नबनोस् भन्ने कुरा पनि उनीहरु यत्रतत्र गर्दै हिडेका छन् । यसरी उक्साउँदै जाँदा रुसलाई पूरै नभए पनि आंशिकरुपमा नै सही अमेरिकाको नजिक ल्याउन सकिने बिश्वास पनि उनीहरुले गर्न थालेका छन् । उनीहरुको प्रयत्न यस्तो भए पनि यो कुरा तुरुन्तै हुनेमा उनीहरुको बिश्वास रहेको छैन । त्यसैले यसको लागि दूरगामी प्रयत्न गर्नुपर्ने नीति लिन थालेको प्रतीत हुन्छ । यसै परिप्रेक्षमा कम्युनिष्ट पार्टीको जन्म शताब्दीका बेला चीनका राष्ट्रपतिको अलिक कडा भाषण आएको र चीनका बिरुद्ध बन्दो ‘चक्रब्यूह’लाई चकनाचुर पार्ने कुरा ब्यक्त भएको पनि उनीहरुले औल्याउन बाँकी राखेका छैनन् ।