शनिबार, आश्विन १७ गते २०८३

बन्द भएका सात एयरलाइन्सलाई बक्यौता तिर्न उड्डयन प्राधिकरणको ताकेका

चैत्र ६, २०७८ आइतबार
बन्द भएका सात एयरलाइन्सलाई बक्यौता तिर्न उड्डयन प्राधिकरणको ताकेका

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ । अहिले सञ्चालनमा नरहेका तर बक्यौता रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै एयरलाइन्सहरुलाई ताकेता गरेको हो ।

बक्यौता रहेका कम्पनीहरूमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

नेकोन एयरले  ४ करोड ७२ लाख २५ हजार, शिवानी एयरले ५५ लाख ५१ हजार, गोरखा एयरले २० लाख ३५ हजार, माउण्टेन एयरले ६ लाख १० हजार, 
कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार, स्काइलाइन एयरवेज स् ७ लाख ८० हजार र एयर काष्ठमण्डप ७ लाख ३८ हजार रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको सूचनामा उल्लेख छ । 

प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ । 

प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।