पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्ने देखिएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसँगै पुन भाउ बढ्ने संकेत देखिएको हो ।
आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।
१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन आन्तरिक दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ । काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर रु १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।
भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर ९भ्याट० र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।