शनिबार, आश्विन १७ गते २०८३

विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

फाल्गुण २९, २०७८ आइतबार
विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

चितवन उद्योग वाणिज्य संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै ढकालले राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था नभएको बताए । ‘कोभिड(१९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउँदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,’ उनले भने ।

स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समानबुझाइ भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा निजी क्षेत्रको तर्फबाट मात्र नभई आईएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षको रुपमा समेत सहकार्य र सहयोग गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।