चालु आ.व.को माघ मसान्त सम्ममा ५ खर्ब ४० अर्ब १२ करोड विप्रेषण आप्रवाह भएको छ । यस अवधिमा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने व्यक्तिको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । सात महिनाको अवधिमा २ लाख १०२ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष भने यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १,५२,३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।