नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्नमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिएका हुन् ।
नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक ईच्छुक रहेको पनि उल्लेख गरे । ‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक ईच्छुक छन्,’ उनले भने, ‘हामीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सक्छौँ ।’
नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिनेमा पनि उनले जोड दिए । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यात गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा अपार लगानी संभावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्न सक्ने बताए । उनले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गरे ।
अध्यक्ष अग्रवालले कोभिड १९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह गरे । भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धीअनुसार नेपालमा उत्पादन हुने वस्तुहरु भन्सार छुटको सुविधामा भारत प्रवेश गर्न सक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने बताए ।