शनिबार, आश्विन १७ गते २०८३

युक्रेनमाथि रुसी हमलाका पछाडिः भूगोल र भाषा 

फाल्गुण १६, २०७८ सोमबार
युक्रेनमाथि रुसी हमलाका पछाडिः भूगोल र भाषा 

रुसले युक्रेनमाथि गरेको हमला यूरोपिय इतिहासमा ६० वर्ष यताकै भीषण युद्धको रुपमा लिइएको छ । विशालकाय रुसले युक्रेनमाथि हमला किन ग¥यो भन्ने प्रश्न उब्जिएको छ । के रुस युक्रेनलाई रुसमा मिलाउन चाहन्छ ? १.७ वर्ग किलोमिटर क्षेत्रफल भएको ठूलो राष्ट्र रुसलाई ६ लाख वर्ग किलोमिटरको साढे ४ करोड जनसंख्या भएको देश मिसाउन आवश्यक छ ? 
यसका पछाडिको स्वार्थ भने बेग्लै छ । भूगोल र भाषा युद्धको अन्तर्यमा रहेका छन् ।

रुस सामुद्रिक मुलुक हो । यसका सामुद्रिक तट ३६ हजार किलोमिटर लम्बाइको रहेको छ । उत्तरी ध्रुव महासागरसँग  जोडिएकाले त्यो सामुद्रिक तटको उपयोग उसले पूर्ण रुपमा गर्न सक्दैन । कारण हिउँदको समय ६ महिनाभन्दा बढि त्यो क्षेत्रमा हिँउ पर्छ । अर्को कारण सामुद्रिक सतह पश्चिम यूरोप निकट छैन । व्यावसायिक गतिविधिका लागि पनि पश्चिम यूरोप तथा भूमध्य सागर क्षेत्रमा प्रवेशका लागि रुसलाई पश्चिम–दक्षिणमा अवस्थित काला सागरमा निर्भर हुने बाध्यता छ । रुसलाई कालासागर पुग्नबाट रोक्ने भूगोल भनेको दक्षिणपूर्वमा युक्रेन र दक्षिणी भूभागमा जर्जिया भन्ने देश रहेका छन् । 

भौगोलिक रुपमा रुसलाई युक्रेन भन्दा पनि काला सागरबाट निकास चाहिएको हो । रुस कालासागरमा प्रवेश गर्ने तटीय क्षेत्र युक्रेनमा रहेको छ । त्यसकै लागि युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई रुसले २०१४ मा नै कब्जा गरिसकेको छ । ५४ वर्ष अघि रुसको भुभाग रहेको क्रिमियालाई सोभियत संघ रहेको बेला युक्रेनमा मिलाइएको थियो । हमलाभन्दा अघि युक्रेनको पूर्वी राज्य दोनेत्कस र लहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिनु पनि काला सागरसम्म प्रवेशको स्वार्थ नै प्रमुख देखिन्छ ।  क्रिमियामा रहेको सेव्हास्तोपोल बन्दरगाह रुसका लागि अत्यन्त महत्वको हो । क्रिमिया आफ्नो कब्जामा भएपनि युक्रेनको पश्चिम युरोपसँग घनिष्ठता बढेमा वा नाटो सैन्य संगठनमा आवद्ध भएमा क्रिमिया आफूबाट गुम्ने त्रास रुसमा छ । त्यसैले युक्रेन युरेपेली युनियन वा नाटोसँगको सम्पर्कमा नजाओस् भन्ने स्वार्थ रुसको हो । यसबाट पनि युक्रेनमा आफ्नो रोजाईको वा सैन्य सत्ता स्थापना होओस् भन्ने चाहेको केहिदिन यताका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका भनाईले प्रष्ट हुन्छ ।

अर्कोतर्फ युक्रेनमा करीब ३० प्रतिशत रुसीभाषीहरुको बाहुल्यता रहेको छ । उनीहरु युक्रेनीभाषीबाट प्रताडित रहेको महसुस गर्दछन् । उनीहरुमा आफूहरु युक्रेनी भएको तर रुसी भाषा बोल्ने गरेकै कारण विभेद भइरहेको भावना छ । त्यस भावनाको लाभ रुसले लिएको छ । रुसीभाषीहरुको कत्लेआम हुनबाट जोगाउन पनि युक्रेनमाथि हमला गर्नुपरेको भाष्य रुसले बनाइरहेको छ ।

यस प्रकार रुसी हमला युक्रेनलाई आफूमा गाभ्ने भन्दापनि युक्रेनी सत्तामाथि आफ्नो प्रभुत्व कायम राख्ने रणनीति भएको प्रष्ट हुन्छ ।

तर युद्धले कहिल्यै पनि सोचेकै परिणाम दिन्छ भन्ने हुँदैन । यस युद्धमा रुस र युक्रेन बाहेक कुनकुन कस्ता शक्ति राष्ट्र भिड्नेछन् ? के युद्ध बहुआयामिक बन्नेछ ?  के यो तेश्रो विश्वयुद्धकै तयारी त हैन भन्ने त्रास सर्वत्र छाएको छ ।