२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएको छ । निर्वाचनको सुरक्षाका लागि विद्यमान जनशक्तिले मात्र अपुग हुने भएपछि म्यादी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । नेपाल प्रहरी लगायतका अन्य सुरक्षा निकायले यसका लागि आवश्यक गृहकार्य सुरु गरेका छन् ।
स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ । म्यादि प्रहरकिा लागि दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी कार्यालयको छ । चैत्र महिनामा म्यादी प्रहरी माग गर्ने सम्भावना रहेको कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गर्न डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।
म्यादी भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राखिने भएको छ । स्थानीय निकायको निर्वाचन एकै चरणमा गर्ने तयारी निर्वाचन आयोगले गरेकाे छ।